पञ्चकन्या माध्यमिक विद्यालयमा मनपरी, अन्यायमा शिक्षिका गैह्रे
अर्जुनचौपारी गाउँपालिकामा स्थायी शिक्षकको रुपमा नियुक्ति लिएर आउनुभएकी एक शिक्षक अन्यायमा परेकी छन् ।श्री चण्डीडाँडा आधारभूत विद्यालयबाट सरुवा भई पञ्चकन्या मावि अर्जुनचौपारी आउनुभएकी शिक्षकलाई हाजिर हुन नदिएर विद्यालय तथा विद्यालयका प्रअ विष्णुप्रसाद तिवारीले शिक्षक शारदा गैह्रेमाथि अन्याय गर्नुभएको हो ।
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिई हालै मात्र अर्जुनचौपारी गाउँपालिका आउनुभएकी शिक्षक शारदा गैह्रेको पदस्थापन श्री चण्डीडाँडा आधारभूत विद्यालयमा भएको थियो ।तर, उक्त विद्यालयमा विद्यार्थी अभावको कारण विद्यालय नै खारेज हुने अवस्था आएपछि अर्जुनचौपारी गाउँपालिकाको कार्यपालिका बैठकको मिति २०८१ साल वैशाख १६ गतेको निर्णय अनुसार वैशाख ३० गतेको मितिमा काटिएको चलानी नं. १३५० को पत्रानुसार उनको सरुवा अर्को व्यवस्था नभएसम्मका लागि पञ्चकन्या मावि अर्जुनचौपारीमा गरिएको थियो ।
चण्डीडाँडा आधारभूत विद्यालयले रमाना दिएपश्चात पञ्चकन्या मावि अर्जुनचौपारीमा हाजिर हुने आशाका साथ शिक्षक शारदा गैह्रेले चक्कर काटिरहनुभएको छ I वैशाख ३० गतेदेखि आजसम्म पनि आफू विद्यालय र पालिकामा चक्कर लगाउँदा समेत विद्यालयले हाजिर हुन नदिएको पीडित शिक्षक गैह्रे बताउनुभयो । उहाँले आफूले आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गरेको तर सरुवा भई आएको विद्यालयमा हाजिर हुन नपाएको गुनासो गर्नुभयो । यतिका समय हाजिर भई कामकाज गर्न नपाउँदा आफू मनोवैज्ञानिक रुपमा कमजोर बनेको र कसैको सहयोग नपाएको समेत शिक्षक गैह्रेको दुखेसो थियो । आफ्नो तर्फबाट उचित योगदान दिएर शिक्षा मार्फत समाज निर्माण अभियानमा टेवा दिन आफूले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी शिक्षण पेशामा आएको बताउनुभयो।
दरबन्दी मिलान तथा शिक्षक समायोजन गर्ने क्रममा अर्जुनचौपारी स्थित श्री पञ्चकन्या माविमा कार्यरत शिक्षक भोजराज अर्याल दीपज्योति आधारभूत विद्यालय आरुचौर पदस्थापन भई गएको र सोही स्थानमा पदस्थापन भई आएकी शिक्षक श्री शारदा गैह्रेलाई व्यक्तिगत हठका पञ्चकन्या माविका प्रअ तिवारीले कारण भोजराज अर्याललाई रमाना पत्र नदिनुभएको र शारदा गैह्रेलाई हाजिर नगराउनुभएको हो । यस विषयमा बुझ्दा तिवारीले एउटा दरबन्दीमा दुई शिक्षक हाजिर गर्न नमिल्ने भन्दै ठाडो जवाफ दिनुभयो जहाँ कि अर्को विद्यालयमा पदस्थापन भएर गएका शिक्षक भोजराज अर्याललाई उहाँले रमाना नदिई सोही विद्यालयमै कामकाज गराएर पालिकाको निर्देशन तथा स्थानीय शिक्षा ऐन समेतको उल्लंघन गरेका गर्नुभएको छ । उहाँले अब पनि सोही दरबन्दीमा शिक्षक हुँदाहुँदै अर्को शिक्षकलाई हाजिर हुन नदिने अडान दोहोर्याउनु भएको हो । उहाँमाथि विद्यालयमा शिक्षक हाजिरकपि लुकाएर हाजिर हुन नदिएको, विद्यालय व्यस्थापन समितिको निर्देशन समेत पालना नगरेको, विद्यालयको शैक्षिक अवस्था धराशायी बनाएको, आर्थिक पारदर्शिता कायम नगरेको लगायतका आरोप लागिरहेका छन् ।
शिक्षकलाई विद्यालयमा हाजिर गर्न किन सहजीकरण नगरेको? भनी खबरकलम डटकमले पञ्चकन्या माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष फणीनारायण अर्याललाई सोध्दा आफूहरुले शिक्षकलाई नियमानुसार हाजिर गराउन प्रअलाई निर्देशन दिएको तर प्रअ विष्णुप्रसाद तिवारीले आलटाल गरिरहेको बताउनुभयो। शिक्षकलाई मनोवैज्ञानिक असर पर्नेगरी लामो समयसम्म जिम्मेवारी नदिई राख्दा आफू समेत दु:खी भएको उहाँको भनाइ थियो।
लामो समयसम्म पनि विद्यालयले शिक्षक शारदा गैह्रेलाई हाजिर हुन नदिएपछि गाउँपालिकाले पालिकामै हाजिर हुने व्यवस्था मिलाएर तलब खुवाईरहेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार पालिकाको निर्देशन मान्नु हरेक विद्यालय र प्रअको कर्तव्य रहेको स्मरण गराउँदै कुनै पनि शिक्षकलाई अन्याय हुन दिन नहुने बताउनुभयो । शिक्षक शारदा गैह्रेको पेशागत सुरक्षामा कुनै समस्या हुन नदिने बताउँदै उहाँले चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । गाउँपालिका स्रोतका अनुसार शिक्षकको पदस्थापन तथा पालिकाभित्र सरुवा आफ्नो अधिकार क्षेत्रको व्यवस्था रहेको र स्थानीय शिक्षा ऐनमा उल्लेख भएअनुसार नै शिक्षकहरुको दरबन्दी मिलान तथा पदस्थापन गरिएको छ। वर्तमान संविधानमा माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय निकायलाई प्रदत्त गरिएको भएपनि नयाँ संघीय शिक्षा ऐन तथा कानूनको अभावमा अधिकार प्राप्तिमा समस्या भैरहेको छ।
एक विद्यालयको प्रअका हठका कारण कसैले सास्ती र हैरानी बेहोर्न नहुने कुरा उल्लेख गर्दै आफूहरुको सही योजना र शिक्षा सुधार अभियानलाई असफल गराउन शिक्षक भोजराज अर्याल र पञ्चकन्या माविका प्रअ विष्णुप्रसाद तिवारीले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका कारण हालै मात्र उच्च अदालत पोखराबाट सरुवा सम्बन्धी निर्णयविरुद्ध “स्टे अर्डर” जारी भएकाले एक दुई दिनमै हल निकाल्ने गाउँपालिका अध्यक्ष तिवारीले बताउनुभयो ।
सम्बृद्ध गाउँपालिका र शिक्षित बासिन्दा बनाउने आफ्नो अभियानमा आफू दृढ भएरै लाग्ने उहाँको अठोट रहेको छ भने कसैलाई पनि अन्यायमा नपार्ने तथा गल्ती गर्ने कसैलाई पनि नछाड्ने कुरामा समेत आफू सचेत रहेको अध्यक्ष तिवारीले बताउनुभयो।