विद्यालयस्तरीय शैक्षिक तथ्याङ्कसम्बन्धी ३ दिने तालिम सम्पन्न

जेठ ३०, २०८१     जीवन अर्याल


भीरकोट नगरपालिकाद्वारा आयोजित विद्यालयस्तरीय तथ्याङ्क अनलाइन प्रविधिमा आधारित आईईएमआईएस (IEMIS) सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम भीरकोटमा सम्पन्न भएको छ।

३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम मंगलबार  सम्पन्न भएको हो। भीरकोटका ४३ भन्दा बढी विद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थितिमा अनलाइन प्रविधिमा आधारित IEMIS को प्रयोग तथा अद्यावधिक अभिलेखीकरण गर्न सहजीकरण गराइएको जानकारी उक्त अभिमुखीकरण तालिमका सहजकर्ता विष्णु भट्टराईले दिए।

उनका अनुसार हालै मात्र अपडेटेड भर्सनमा आएको उक्त प्रविधिमा विद्यालय तथा विद्यार्थीको अभिलेख भण्डारण र अभिलेखीकरणमा कुनै द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले उक्त अभिमुखीकरण तालिम आयोजना गरिएको हो।

पहिलो दिनमा विद्यालयको अभिलेखीकरण गराई सुरु गरिएको उक्त तालिममा IEMIS को ड्यासबोर्डमा रहेका हरेक चरणहरुलाई प्रयोगात्मक विधि मार्फत अभ्यास गराइएको छ। विद्यालयको शैक्षिक, भौतिक अवस्था, विद्यालयमा कार्यरत शिक्षकहरुको अभिलेखीकरण, विद्यार्थीको रेकर्ड अध्यावधिक, परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिक गर्ने लगायतका विभिन्न चरणहरु उक्त अनलाइन सफ्टवेयरमा समाविष्ट छन्।‌

समापन कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले आफूले भीरकोट नगरपालिकाभित्रको शिक्षा क्षेत्रमा सुधारको प्रयास गरिरहेको बताउँदै भीरकोट नगरपालिकालाई जिल्ला मात्र नभएर प्रदेशकै शैक्षिक हव बनाउने अभियानमा साथ दिन शिक्षकहरुलाई अनुरोध गरे। शिक्षकले आफ्नो जागिरभन्दा बढी पेशागत मर्यादा ख्याल राख्दै कर्तव्यनिष्ठ बन्न सके शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आउने उनको भनाइ थियो।

यसैगरी शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद कोइरालाले शिक्षकको देन नै शिक्षा सुधारको उपाय भएको बताउँदै शिक्षा क्षेत्रमा अनवरत सक्रिय रहन अनुरोध गरे। शिक्षकहरुका हर कठिनाईसँग आफू साथमा रहेको बताउँदै उनले आफ्नो तर्फबाट हुने हर प्रयासहरु गर्ने समेत स्पष्ट पारे।

तीन दिनसम्म चलेको उक्त कार्यक्रमको हरेक दिन रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको थियो। समापन कार्यक्रममा ३ दिनसम्मको रिपोर्टिङ संक्षेपमा प्रस्तुत गर्दै शिक्षक जीवन अर्यालले उक्त सहजीकरण कार्यक्रमको आयोजना र सहजीकरणका निम्ति भीरकोट नगरपालिकालाई आभार व्यक्त गर्दै यस्ता खालका कार्यक्रमको निरन्तरताले शिक्षकको पेशागत उन्नयनको पथ खडा हुने बताए।

कार्यक्रमको सहजीकरण भीरकोट नगरपालिका शिक्षा शाखाका प्रास विष्णु भट्टराईले गरेका थिए। कार्यक्रममा ४३ बढी शिक्षकहरुको उपस्थिति रहेको थियो।