भौतिक विकास र शैक्षिक गुणस्तरमा जोड दिंदै दभुङ ठाँटी मा.वि.

स्याङ्जा जिल्लाको एक पुरानो विद्यालयको रूपमा २००९ सालमा स्थापित भएको दभुङ् ठाँटी भीरकोट नगरपालिका वडा नं ४ मा अवस्थित छ। ११ सालमा अनुमती पाएको विद्यालयले ५६ सालदेखि निमावि र ६६ सालदेखि माध्यमिक तहको कक्षा संचालन गरेको हो।
प्रसिद्ध छाँयाक्षेत्र मन्दिरको शिरमा अवस्थित विद्यालय सिद्धार्थ राजमार्ग देखि ४ किलोमीटर दुरीमा रहेको छ। विद्यालयको सुरूवात ताका बरको फेदमुनी र ठाँटीको पौवामुनी राखेर पढाएको हुनाले विद्यालयको नाम नै दभुङ ठाँटी राखिको जानकारहरू बताउँछन्।

विविध कारणबस एकदमै कमजोर भएको यस विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका लागि धेरै सकारात्मक प्रयासहरू गरिएका छन्। विभिन्न बाधा र अभावकाबिच विद्यालयका प्रधानाध्यापकको दृढ इच्छा शक्तिका कारण विद्यालयको मुहार सँगसँगै शैक्षिक गुणस्तरमा पनि सुधार भएको छ।
विद्यालयमा शैक्षिक वातावरण सृजना गर्न शिक्षक, अभिभावक र विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता सबैले देख्ने गरि राखिएको छ। मौसम अनुसार कक्षाकोठाको झ्याल, ढोका बन्द गर्न र खोल्न सकिने बनाइएको छ।विद्यालयको वातावरण स्वच्छ र सफा राख्न कक्षाकोठा भित्र र बाहिर समेत डस्टबिनको व्यवस्था गरिएको छ।स्वच्छ खानेपानीको व्यवस्था सँगसँगै विद्यालयको चमेना गृहमा स्थानीय उत्पादनबाट बनेका पोसिलो परिकारलाई प्राथमिकता दिइएको छ।विद्यालयको सौन्दर्यात्मक वातावरणलाई प्रवर्धन गर्न गमलाहरूमा फुल रोपिएको छ।

शिक्षकहरूबिच एकताको भावना सृजना गर्न जिम्मेवारी बाँडफाँड समेत गरिएको विद्यालयमा शिक्षक र विद्यार्थीको गतिविधि निगरानी गर्न र विद्यालयको सुरक्षाका निम्ति सिसिटिभी समेत जडान गरिएको छ।विद्यार्थी र शिक्षकको उपस्थिति र अनुपस्थिति लाई सबैले देख्ने गरी राखिएको छ।

कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ। हरेक शिक्षकहरूले आफ्नो वार्षिक,मासिक र दैनिक पाठ्य योजना निर्माण गरेका छन् र सोही अनुसार शिक्षण सिकाइ गतिविधि संचालन हुन्छ। निर्माणात्मक मूल्यांकनलाई प्राथमिकता दिइएको विद्यालयमा मासिक परीक्षा संचालन र अभिभावकसँगको अन्तरक्रियालाई समेत जोड दिइएको छ। कक्षा केजी देखि३ सम्म नो ब्याग डे को कार्यान्वयन गरिएको विद्यालयमा विद्यार्थीलाई सोही दिन अनौपचारिक पोशाकमा विद्यालय आउन पाउने व्यवस्था मिलाइएको छ। नो ब्याग डे को दिन रचनात्मक र सृजनशील कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
विज्ञान प्रयोगशाला,कम्प्युटर ल्याब, पुस्तकालयको प्रभावकारी प्रयोग गर्न कक्षागत समय तालिका समेत बनाइएको छ। विद्यालयको विदा, अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधिलाई व्यवस्थित गर्न विद्यालयको वार्षिक शैक्षिक कार्यपात्रो सबै विद्यार्थी र शिक्षकलाई उपलब्ध गराइएको छ। विद्यालयलाई शैक्षिक गुणस्तरको आधारमा भीरकोटको नमुना विद्यालय बनाउन विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू लागि परेका छन्।
विद्यालयको शैक्षिक भौतिक पक्षमा सुधार भएपछि विद्यार्थी संख्या समेत बढेको छ। संस्थागत र सामुदायिक दुबै विद्यालयका विद्यार्थी यो वर्ष नयाँ भर्ना भएका छन्। १२ वर्षपछि विद्यालयमा पहिलोपटक २० जना विद्यार्थी थपिएका हुन्। हाल विद्यालयमा १ सय १८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिन थालिएको छ।कक्षा ५ , ८ र १० मा शिक्षण सिकाइको प्रभावकारिता वृद्धि गर्न हरेक दिन १ जना अभिभावकलाई उल्लेखित कक्षाकोठामा बस्नैपर्ने व्यवस्था गरिएको छ।विद्यालयलाई पालिकाको नमुना विद्यालय बनाउन स्थानीय सरकार, अभिभाव, शिक्षक, विद्यार्थी र सरोकारवाला सबै लाग्नुपर्ने विद्यालयका प्रधानाध्यापक सुवास गहतराजको अनुभव छ।
(यो सामाग्री विद्यालयका शैक्षिक र भौतिक सुधारका विषयमा प्रधानाध्यापक सुवास गहतराजसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो।गहतराजले २०८० भाद्र २४ गतेदेखि विद्यालयमा प्र अ को जिम्मेवारी सम्हालेका हुन्।)