जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भू.पू. सैनिक प्रथम

मङि्सर २९, २०८०


स्मार्ट संवाददाता, गल्याङ

२९ मसिंर २०८०, शुक्रबार 

चिराग आवासीय माध्यमिक विद्यालय, गल्याङले   जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  सम्पन्न गरेको छ।  हाजिरी जवाफ प्रतियोगितामा भू.पू. सैनिक कम्युनिटी एकेडेमी , बयरघारी प्रथम भएको छ। प्रतियोगितामा भगवती मा.वि. द्वितीय, भू.पू. सैनिक मा.वि., स्याङ्जा  तृतीय भएका छन् भने रामनदीधाम संस्कृत गुरूकुलले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय सदस्य तथा बालोदय मा. वि., भीरकोटका प्रिन्सिपल अमृत अर्यालले हाजिरी जवाफ जस्ता  अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको बौद्धिक क्षमता विकासमा  सहयोग पुग्ने बताए। संस्थागत विद्यालयहरुले नेपालको शैक्षिक विकासमा  अतुलनीय योगदान पुर्‍याउँदै आएको भएपनि सरकारले सधैं असमान  व्यवहार गरेको र सामुदायिक विद्यालयलाई मात्रै काखी च्याप्ने गरेकोमा दु:ख प्रकट गरेका थिए।अर्यालले अब शैक्षिक क्षेत्रमा गुणात्मक सुधार, शिक्षामा सिप , विद्यार्थीमा संस्कार र समय अनुसारको प्रविधिमा जोड दिनुपर्ने बताए। प्याब्सनको मुख्य एजेन्डा अब कक्षाकोठा सुधार गर्नु हो, वैकल्पिक माध्यमबाट पठनपाठनलाई अझै व्यवस्थित गर्नु हो–अर्यालको भनाई थियो । प्याब्सनले शिक्षामा सुधार गर्न सरकारले विद्यालयमा प्रयोग हुने सवारी साधन, प्रयोगशाला सामाग्री , पुस्तक लगायतका सामाग्रीमा लगाइएको भन्सार शुल्क एवं कर छुटको व्यवस्था गर्नुपर्ने, निजी लगानीबाट सञ्चालित विद्यालयलाई राष्ट्रिय परीक्षा, राष्ट्रिय पाठ्यक्रम र अनुगमन बाहेक विद्यालय सञ्चालन गर्न पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने, विद्यालयलाई स्थायी स्वीकृति दिनुपर्ने, विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने व्यवस्थाका लागि नीति बनाउनुपर्ने लगायत विषयमा सुधारको खाचो औल्याएका थिए ।

आयोजक चिराग आवासीय मा.वि.  प्रिन्सिपल टेक बहादुर खत्रीले प्रतियोगिताका विजेता र सहभागी सबै विद्यार्थीहरूलाई शुभकामना तथा  बधाई दिदै कार्यक्रम सफल बनाउन जिम्मेवारीका साथ काम गर्ने र कार्यक्रम सफल बनाउन सहभागीता जनाउने सम्पुर्ण विद्यालयलाई धन्यवाद दिएका थिए।प्रतियोगितामा जिल्लाका  २१ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी
विज्ञापन