स्याङ्जाको चापाकोट नगरपालिका-८ रत्नपुरमा रहेको (तत्कालीन श्री जनसामूहिक प्राथमिक विद्यालय) प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज अझै संचालन हुन सकेको छैन। लामो समयदेखि विवादित रहेको चापाकोट नगरपालिकामा कृषि तथा वन क्याम्पस अहिलेसम्म सञ्चालन हुने छाँटकाँट देखिएको छैन। जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुको छलफल हुँदै आएपनि चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालन भएको छैन।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र चापाकोट नगरपालिकाको आयोजनामा यससम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । तर यहाँ सञ्चालन हुन लागेको कृषि तथा वन क्याम्पस राजनीतिक खिचातानीले सञ्चालन हुन नसक्नु दुःखद भएको यहाँका स्थानीयले बताएका छन । संघीय सरकार र प्रदेश सरकारले समेत क्याम्पस सञ्चालनमा कुनै चासो नदेखाएको आरोप स्थानीयको छ ।
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाइसँगै हुने मोडेलबाट शुरु गर्नुपर्ने भन्दै चापाकोटमा क्याम्पस स्थापना गर्नका लागि अहिलेसम्म जग्गा व्यवस्थापन र सम्बन्धनको काम मात्र भएको जानकारहरुले बताएका छन। क्याम्पसको भौतिक पूर्वाधार, क्याम्पस सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि तीन तहको सरकारलाई परिचालन गर्न भूमिका खेल्नुपर्ने यहाँका बुद्धिजीवीहरुले बताउदै आएका छन।
चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा दुई प्रदेशका विद्यार्थीलाई राहत मिल्ने भएपनी क्याम्पसमा राजनीतिक विवाद देखिनु दुःखद रहेको छ।राजनीतिक विवाद र यसको अन्त्य सँगै छिट्टै क्याम्पस सञ्चालन हुने कुरा भने अन्योलमा रहेको छ।
क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक १ सय २० रोपनी जग्गा खरिद भैसकेको छ भने क्याम्पसले सम्बन्धनको कामसमेत सकाएको छ । २०७४ सालमा सम्बन्धन पाएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज नामको क्याम्पस सञ्चालन आएपछि पाल्पा,तनहुँ र स्याङ्जाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेछ ।
चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँणले नगरपालिका चापाकोटमा कृषि क्याम्पस स्थापना गर्ने विषयमा नियमित रुपमा लगिरहेको बताए । उनले भने , “हामी सबैजना लागिरहेका र्छौँ । नगरपालिकाको तर्फबाट गर्ने सबै सहयोग गर्छौँ भनेकै छौँ । हामीले मात्रै गरेर नहुने काम भयो । अर्थ मन्त्रालय र विश्वविद्यालयसँग समन्वय गरिरहेका छौँ । यसको लागि दबाब पनि दिइरहेका छौँ । प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटपछि सबै कुराहरु सकारात्मक आएका छन् । क्याम्पस स्थापना गर्न मात्रै नभएर समग्र चापाकोटको विकासका लागि सबैजना एकजुट भएर लाग्नुको विकल्प छैन ।”