भीरकोटका सामुदायिक विद्यालय २ दिन बन्द हुने

असोज ०२, २०८०


स्मार्ट संवाददाता, 

२ असोज २०८० 

भीरकोटका सामुदायिक विद्यालय २ दिन बन्द हुने भएका छन्। आगामी असोज ४ र ५ गते भीरकोट सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक  संघ भीरकोट नगर कार्यसमितिका उपाध्यक्ष रिवन कुमार विश्वकर्माले जानकारी दिए।

शिक्षक संगठनहरूले संयुक्त रूपमा निकालेको विज्ञप्ति

भीरकोटका २ वटा शिक्षक संगठनले  मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै संसदमा दर्ता भएको शिक्षा विधेयक – २०८० को  विरूद्ध प्रदर्शनमा  सहभागी हुन काठमाडौं जाने प्रयोजनका निम्ति  २ दिन विद्यालय बन्द गर्ने सूचना दिएका हुन्। नेपाल शिक्षक संघका भीरकोटका उपाध्यक्ष रिवन कुमार विश्वकर्मा र नेपाल शिक्षक संगठन, भीरकोटका अध्यक्ष दल बहादुर सारूले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा  विधेयक -२०८० शिक्षकहरुको हक र अधिकारको विरुद्ध भएको हुनाले उक्त विधेयकलाई शिक्षकको माग सापेक्ष बनाई संसदबाट पास गर्नको लागि शिक्षक महासंघको आह्वान अनुरुप भीरकोटका सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरु  काठमाडौंमा विरोध प्रदर्शन गर्ने जाने  कार्यक्रम रहेको हुँदा असोज ४ र ५ गते गते विद्यालयको पठनपाठन नगर्ने निर्णय गरिएको जानकारी गराएका छन्। ४ र ५ गतेको पठनपाठन उपयुक्त समयमा पूर्ती गर्न पनि सम्बन्धित विद्यालयहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

विद्यालय बन्द हुने विषयमा नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र निमित्त प्रशासकीय प्रमुख एवं  शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालालाई  सम्पर्क गर्दा उक्त विषयमा कुनै औपचारिक जानकारी नपाएको बताए। तर आपसी सहमतिमा नै २ दिन विद्यालय बन्द गर्ने निर्णय भएको स्रोतले जानकारी दियो।