नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट दिने भएको छ । एयरलाइन्सले दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार छुट दिने बताएको हो । त्यस्तै दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि २५ सयसम्म छुट दिइने कम्पनीले जनाएको छ ।
उक्त छुट जहाजको सिटअनुसार पहिले आउनेलाई प्राथमिकताको आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यस्तै छुट पाउनका लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्ने नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडा दरमा विशेष छुट दिइएको र निगमको अन्तर्राष्ट्रिय टिकट बिक्रि कार्यालयवाट टिकट लिन सकिने व्यवस्था समेत मिलाइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट र Nepal Cancer Relief Society को सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई १००% छुटमा, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५०% छुटमा टिकट उपलब्ध गराइएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५% छुटमा टिकट उपलब्ध गराइएको निगमले जनाएको छ।