पहिरोको जोखिममा भीरकोट ५ को मल्लगाउँ

असार २५, २०८१     कला राना


शनिबार दिउँसो स्याङ्जाको भीरकोट ५ मल्लगाउँमा गएको पहिरोले सिंगो गाउँ जोखिममा परेको छ । शनिबार दिउँसो ३ बजेको समयमा घरमाथिबाट एक्कासी पहिरो जाँदा ७२ वर्षीय खेमकुमारी मल्लको मृत्यु भएको थियो । शनिबार दिउँसोदेखि पहिरोमा पुरिएर बेपत्ता खेमकुमारीको शव आईतबार दिउँसो शसस्त्र प्रहरी र स्थानीयको खोजीमा भेटिएको थियो । उक्त पहिरोले अशोक मल्ल, सुरेश मल्ल, टोपबहादुर मल्ल, नेत्रबहादुर मल्ल, जनम मल्ल, दिपक राना, नन्दकुमारी सिंजालीको घर जोखिममा परेको छ ।

उक्त गाउँका घर परिवार वालिङ ११ को भोर्ले र अम्बारी गाउँमा छिमेकीको घरमा शनिबार रातिदेखि आश्रय लिएर बसिरहेका छन् । उक्त पहिरोमा पुरिएर एक व्याउने भैँसी सहित ३ भैँसी, १० बाख्राहरु मरेका छन् । एक घर र दुई गोठ पहिरोले पुरिँदा उक्त चौपाय मरेका हुन् । भर्खरै शुरु भएको वर्खाले मानविय तथा पशुचौपायमा क्षति भएपछि अबको हरेक वर्षाको समयले पिरोल्ने भएको छ ।

यो वर्खाभरी घरमा बास हुने हो की नहुँने हो भन्ने पिरलोमा सिंगो मल्ल गाउँ परेको छ । स्थानीय शोभा रानाले भन्नुभयो, ‘अब नहुँने घटना भईसक्यो अव बाँच्नेले कसरी ज्यान जोगाउने भन्ने मुख्य विषय बनेको छ । स्थानीय सरकारले यो गाउँलाई हेरोस ।’ हिँउदभरी पानीकै लागी पिरोलीने गाउँ अहिले वर्खाको पानीले ठुलो जनधनको क्षति भएपछि सिंगे गाँउ शोकमा डुबेको छ । एक गाग्रो पानीको लागी दशकौँदेखि पिरोलिएको उक्त गाउँ अहिले बर्खाको पानीले उठीबास नै बनाएपछि गाउँलेले थप जनधनको क्षति नहोस भन्नेमा स्थानीय सरकार केन्द्रित भएर थप कदम चलाउनुपर्ने स्थानीयले बताएका छन् ।

दुई छोराकी आमा खेमकुमारी गाउँमा निकै मिजासिलो स्वभाव सहयोगी भावनाको हुनुहुन्थ्यो । केहि वर्ष पहिले श्रीमान गुमाउनुभएकी खेमकुमारीको अहिलेको वर्खाले ज्यान नै लग्यो । ठुली बुहारी र आँफू बस्दै आएको खेमकुमारी उक्त घटना हुनुभन्दा १० मिनेट अगाडि गाउँलेकै घरमा बसेर मकै खाएर घर आउनुभएको थियो ।

सुतिरहेको बुहारीलाई उठाएर घरमा आएको भल तर्काउने बेला एक्कासी पहिरो आउँदा घरले च्यापिएर खेमकुमारीको मृत्यु भएको थियो भने बुहारी रिता मल्ल भागेर ज्यान जोगाउनुभएको स्थानीयले बताएका छन् । विदेश भएका छोरा आएपछि मात्रै शवको दाहसंस्कार गर्ने भएपछि अहिले खेमकुमारीको शव वालिङ स्थित गह्रौँ प्राथामिक अस्पतालमा राखिएको छ ।