आगालागीबाट स्याङ्जामा २० लाख क्षती

पुष ०४, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जाको भीरकोट नगरपालिकामा  गोठ र घरमा  आगालागी हुँदा करिब २० लाख बराबरको क्षती भएको छ। वडा नं १ भलुवाडाँडा निवासी डोलनारायण श्रेष्ठ (स्याङ्जाली बा) को घरमा विद्युत सर्ट भएर आगालागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा करिब ५० प्रतिशत क्षती भएको छ। साँझ भएको आगालागीमा श्रेष्ठको ३ तले ७ कोठाको घरको माथिल्लो तलामा  धेरै क्षती भएको छ।

सांँझ करिब ५.३० बजे विद्युत सर्ट भै भएको आगालागी करिब ७.३० मा नियन्त्रणमा आएको थियो। स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगालागीमा परी श्रेष्ठको नगद १ लाख ३० हजार रूपैयाँ , ७ तोला सुनका गरगहना, लत्ताकपडा, सिरक, डसना,फर्निचर, खाद्यान्न र पराल गरी करिब २० लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।। घटनामा परी मानवीय र पशुधनको क्षती भने नभएको वडा अध्यक्ष दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।

आगालागी नियन्त्रणका लागि वालिङबाट दमकल समेत आएको थियो। तर सडकको दुरावस्थाका कारण  दमकल सिद्धार्थ राजमार्गबाट गाउँ प्रवेश गर्न सकेन। राजमार्गबाट करिब ५ मिनेटको दुरीमा रहेको  गण्डकी प्रदेशका पूर्व सामाजिक विकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठको गाउँमा जाने ढलान सडक भएपनि  सडक साँगुरो हुँदा दमकल राजमार्गबाट माथी निस्कनै सकेन।

गाउँ छिर्न नसकेपछि सिद्धार्थ राजमार्गको मन्त्री चोकमा रोकिएको दमकल