बोलबम डायरी -२०८१
नेपाल विश्वमा एकमात्र यस्तो देश हो जहाँ मानिसको कुल संख्या भन्दा बढी देवीदेवता छन्, घरहरु भन्दा बढी मठ मन्दिरहरु छन् अनि वर्षको ३६५ दिनभन्दा बढी चाडपर्वहरु मनाइन्छ । यो नै धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम नमूना पनि हो । त्यस्तै, भौगोलिक हिसाबले समुन्द्र सतहदेखि ५९ मिटर उचाइदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा यहिँ पर्दछ । त्यसैले पहिला स्वदेश चिनौ, मातृभूमि घुमौ भन्ने सोच मेरो पनि हो । हाम्रो मानव चोला पनि एक प्रकारको यात्रा रहेछ, जब हामी यो धर्तीमा प्रवेश गर्छौ, घुम्दै फिर्दै यो यात्राबाट विट मारेर पुनः यो भौतिक संसारलाई छाडेर विदा हुन्छौ । यसैविच, वालिङ बोलबम सतितिले हरेक वर्ष श्रावणमा देशका विभिन्न धार्मिक तथा पर्यटकिय गन्तव्यहरुको दर्शन, भ्रमण तथा अवलोकनका लागि आन्तरिक पर्यटनलाई प्रवद्दन गर्ने हेतुले विशाल बोलबम यात्रामा लाने प्रचलन रहेछ । यसवर्ष म पनि पहिलो पटक वालिङ बोलबम समिति स्याङ्जाको आयोजना तथा व्यवस्थापनमा २१औँ संस्करणको विशाल बोलबम यात्रामा सहभागी भए । २०८१ श्रावण १२ गते शनिबार ५९ जना सहभागी र बसका ४ जना स्टाफहरु सहित शिव भक्ति, आरधाना, सनातन धर्म प्रचार प्रसार, आन्तरिक पर्यटन प्रवर्धन तथा युवा पुस्तामा समेत धार्मिक जागरण हस्तान्तरण गर्ने उद्देश्य सहित नेपालको लुम्बिनी र कर्णाली प्रदेश आसपासका जिल्लाहरुको भ्रमण हुने ध्येयले ७ दिनको यात्रा तय गरिएको थियो । यात्रामा पहिचानको लागि सहभागी सबैका गलामा वालिङ बोलबम समितिको नामबाट जारी भएको तिर्थयात्रीको फोटो सहित, नाम, पद, ठेगाना र सम्पर्क नम्वर उल्लेख गरिएको परिचय पत्र साथमा थियो । यात्राका लागि दुइवटै मिनिबसको अगाडि र पछाडिको ब्यानरमा यस्तो लेखिएको थियो, ‘बोलबम समिति वालिङ २१औं संस्करणको विशाल बोलबम यात्रा स्याङ्जा वालिङदेखि दाङ, सल्यान (छाँयाक्षेत्र मन्दिर) सुर्खेत, दैलेख, जाजरकोट रुकुमसम्म, २०८१ श्रावण १२ देखि’ । हामी चढेको गाडिको छतमा यात्राका लागि आवश्यक करिव १०० कार्टुन पिउनेपानी, पछाडि डिक्किमा पकवानका लागि भाँडावर्तनहरु तथा खाध्यान्नका सामाग्रीहरु र अर्काेमा गीत बजाउनका लागि २ बटा हर्न माइक एवं अन्य सामाग्रीहरु ग्याँस, चुलादेखि पकाउन आवश्यक सबै थियो । अनि दुबै बसको अगाडि बोलबम र नेपालको झण्डा फहराईएको थियो ।
पहिलो दिनः श्रावण १२ गते शनिबार
बिहान करिब ८ बजे यात्राका लागि पहिले नै नाम टिपाएका बोलबमहरु वालिङ ८, केदारनाथ मन्दिर प्राङ्गणमा शिरपाउँ शिवको प्रिय रातो÷पहँेलो पहिरनमा जम्मा भई औपचारिक कार्यक्रम मार्फत यात्राबारे जानकारी, यात्राको
सामान्य आचार संहिता सहित अध्यक्षज्युको भनाई र वालिङ ८ काफलडाँडामा रहेको शिवालय धुनी गौशालालाई १० बोरा चोकर दान गर्ने उद्घोषका साथ बाद्यवादनका सामग्रीहरू हार्मोनियम, मृदुङगा, झ्याली आदि गाडीमा राखी बिहान ८ः३० बजे यात्राको श्रीगणेश गरियो । अन्य पुर्व तयारीहरु केहि समय पहिलेदेखि नै समितिमार्फत भईसकेको थियो । बोलबम समिति वालिङका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा बोलबम सहकारी वालिङका पदाधिकारीहरू लगायत यात्राको सफलताको लागि शुभकामना दिन सांसद, जनप्रतिनिधी, पत्रकारदेखि नेतासम्म, सुरक्षाकर्मी, धार्मिक तथा यसअघि यात्रामा गइसक्नुभएका आदरणीय व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । यसैबिच, कोही साथीहरू फोटो र भिडियो खिच्नमा त केही पत्रकार मित्रहरु समाचारका लागि बोलबमका समितिका पदाधिकारीहरुसँग यात्राको बारेमा जानकारी तथा प्रतिक्रिया लिन व्यास्त हुनुहुन्थ्यो ।
वालिङबाट गल्याङ लगायतका ठाउँहरू पार गर्दै करिब २ घण्टामा स्याङ्जा र पाल्पाको सिमाना रामनदी धाममा पुग्यौँ ।
कालीगण्डकी नदीमा स्नान तथा सामान्य पूजाआजा गरी सल्यान जिल्लाको छाँयाक्षेत्र मन्दिरमा अर्पण गर्ने हेतुले पवित्र कालीगण्डकी नदीको जल लिइयो, सेलरोटी र तरकारी बिहानको खाजाको रुपमा ग्रहण गरि करिब ११ बजे त्यहाँबाट अगाडि बढियो । सिद्धार्थ राजमार्गलाई पच्छाउदै एक घण्टामा पाल्पा जिल्लाको तानसेन नजिकै पोखराथोक भन्ने ठाउँमा पहिलो दिनको भोजन बनाएर खानको लागि सडकको नजिकै गाडी रोकियो । त्यसपछि कोही पानी ल्याउन, कोही तरकारी काट्न, कोही रोटी बनाउने लगायतका कार्यमा स्वतस्फुर्त रूपमा परिचालित हुनुभयो । खानाको रुपमा सादा भात, तरकारी, रोटी, अचार तयार हुनुअघि भजन किर्तन र नाचगान सहित भोलेबाबाको नाममा जयजयकार गरियो । आफैले बनाएको अर्गानिक शाकाहारी खाना खाएपछि करिब दुई बजेतिर पुनः यात्रालाई निरन्तरता दिइयो । बीचबीचमा दिशापिसाब तथा रिफ्रेसमेन्टको लागि रोकिँदै पाल्पाका रमणीय स्थलहरू हुदै सिद्धबाबा मन्दिरको गाडिबाटै दर्शन गरि करिब ५ बजे लुम्बिनी प्रदेश रूपन्देही जिल्लाको बुटवल बजारमा पुगियो । बास बस्न पुर्व निर्धारित कार्यक्रम अनुसार टाढा पुग्नु पर्ने भएकाले हाम्रो यात्रा पश्चिम नेपालतर्फ अगाडि बढ्यो । रुपन्देही तथा कपिलवस्तु आसपासका विभिन्न ठाउँहरू पार गर्दै करिब ९ बजे दाङ जिल्लाको घोराही बजारमा पुग्यौँ । रातको झिलिमिली तथा विशाल बजारको सन्ध्याकालीन रौनक साँच्चिकै हेर्नको लागि आनन्ददायी थियो । त्यसपछि, पूर्ववत योजना अनुसार घोराही–५, धारापानीमा सञ्चालित ‘श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं शृङ्गारिक महाआरती कार्यक्रम’मा सहभागी हुनको लागि पाण्डेश्वर महादेव धाम परिसर पुगेर रोकियो ।
समय घर्किसकेको थियो, कार्यक्रमका आयोजक तथा बाक्लो संख्यामा उपस्थित श्रद्वालु भक्तजनहरु हम्रो प्रतिक्षामा हुनुहुन्थ्यो । हामी सम्पुर्णले आरती अवलोकन, भजनमा नाचगान तथा बोलबम संस्थाको तर्फबाट आजीवन सदस्यता ग्रहण गरी करिब ११ बजेतिर त्याहाँको बसाइलाई बिटमारि ६ किमि पर दाङ घोराहीमा बास बस्न गइयो । बस्न सबैजनालाई भिग्री रिसोर्टमा प्रबन्ध गरिएको थियो । खाना भने करिब १५ मिनेटको पैदल दूरीमा रहेको होटलमा व्यवस्थापन गरिएको थियो । यसरी पहिलो दिन खानपान गरेर सुत्दा रातको करिब १२ बजेको थियो । दाङको गर्मी भए तापनि सुविधासम्पन्न लजको एसीले हामीलाई शीतलता तथा आरामदायी निन्द्राका लागि सहजता बनाएको थियो । अलि लामो बेर बसमा यात्रा र सुत्न पनि ढिला भएकाले निन्द्रा त्यति गहिरो परेन ।
दोस्रो दिनः १३ गते आइतबार
अघिल्लो रात अलि अबेला सुतेको हुनाले सो दिन उठ्न पनि अलि ढिला भयो । आफ्नो नियमित बिहानी नित्यकर्म सकी करिब ८ बजे सबैजना गाडीमा अघिल्लो दिन जो जुन बसमा थियौ पछिसम्म पनि सो बसमा नै यात्रा गरियो । सर्वप्रथम अघिल्लो रात गएको पाण्डेश्वर धाम परिसरमा पुनः पुगियो । अघिल्लो रात महायज्ञको मात्र अवलोकन गरेकाले सो दिन भने धाम परिसर अवलोकन गर्यौ । सो क्षेत्र धार्मिक पर्यटनको रुपमा विकास गरिएकाले विश्वकै ठूलो त्रिशुल, १००८ जोडी बरपिपलको वृक्ष, १०८ गोमुखी धारा, १०८ शिवलिङ्ग, १०८ तुलसी मठ, किरियापुत्री भवन, पञ्चायन मन्दिर, हनुमान मन्दिर, गायत्रीदेवी मन्दिर, राम मन्दिर, ॐ पार्क, शिव पार्क, गणेश पार्क, कमलपार्क, त्रिशुल पार्क जस्ता स्थलहरूमा पुगी दर्शन, अवलोकन, पूजापाठ, प्रसाद ग्रहण सहित फोटा तथा भिडियोहरू कैद गरियो । केहि साथिहरु भने निकै उत्सुकताका साथ मनमा लागेका जिज्ञासा सरोकारवालासँग राख्नभयो । साँच्चिकै त्यहाँको बसाईमा हामीलाई पनि मनमा छुट्टै सकारात्मक ऊर्जा तथा आध्यात्मिक जागरणको बोध भएको अनुभव भयो । अलि उच्च ठाउँमा भएको हुँदा त्यहाँबाट दाङ उपत्यका पनि अवलोकन गर्ने अवसर जुर्यो । त्यसपछि १२ बजे खाजा घोराहीबाट तुल्सीपुर बजार हुँदै बाह्कुने ताल अवलोकनका लागि गइयो । दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. ३ मा पर्ने सो तालमा १२ वटा कुनाहरु भएर ‘बाह्रकुने ताल’ भनिएको साथै ताल परिसर विशाल रहेको, माछा पाइने, पिकनिक गर्न सकिने, पानी तथा खुल्ला स्थान यथेष्ट र भित्र पार्क समेत रहेको पाइयो । हामीले दिउँसोको भोजन आफै बनाएर त्यहि खायौ । खाना आफै बनाउने, खाना पछि आफै भाँडा माझ्ने अनुभव अलि फरक रह्यो तर समूहमा रमाइलै हँुदो रहेछ । त्यसपछि, भाँडाबर्तनहरु बसमा लोड गर्नु अघि भजन किर्तन लगायतका गतिविधिहरुलाई निरन्तरता दिइयो । सो दिनको खाना आफ्नो पिताज्युको वार्षिक श्राद्द परेकाले एकजना सहभागीले सौजन्य गर्नुभयो । करिव तिन घण्टाको बसाई त्यहि भयो । यात्राकै दौरानमा नेपाल जेसिजका स्थानिय शाखाका पदाधिकारी मित्रहरूसँगको भेटघाट एवं साक्षात्कारले स्थानीय ठाउँको बारेमा बुझ्न, यात्राको बारेमा थप कुरा जान्न र चिनजानका लागि सहजता भएको महसुस गरियो ।
त्यसपछि पुनः तुल्सिपुर हुदै दाङ आई कपुरकोट गाउँपालिका हुँदै करिब ७ः३० मा दाङ जिल्लालाई छोडी सल्यानको श्रीनगरमा गएर बास बसियो । बीचमा पहाडी सुन्दर मनमोहक दृश्यहरू, भर्खर रोपिएका धानका खेतहरू, वर्षाले तरुनो बनेका धमिला नदी तथा खोलाहरू, सडकको बारिपारिका जङ्गल साँच्चिकै हेर्नका लागि रमाइलो थियो । पहाडि बाटो अलि साघुरो अनि कहि–कहि पहिरोले बिगारेका । सबैजना एउटै होटलमा बस्न सम्भव नभएपछि विभिन्न समूह बनाएर आफै होटल खोजेर गास र बासको प्रबन्ध गर्यौ । प्रायः साथिहरु वरपरका होटल तथा लजमा त कोहि अलि पर रहेको छत्रेश्वरी धामको आश्रममा रात विताउने निधो गर्नुभयो । हामी भने अलि पर एलिसा होटल एण्ड लज, शारदा नगरपालिका, बरला सल्यानमा बस्यौँ, जसको सल्यान जेसिजका मित्रले चाजोपाजो मिलाइदिनुभएको थियो । त्यसपछि ताजा अर्गानिक खानाका परिकार ग्रहणपछि आरामदायी बासको साथमा मिठो निन्द्रा सहित त्यो दिनको यात्रा बिट मारियो ।
तेस्रो दिनः १४ गते सोमबार
सो श्रावणको दोस्रो सोमबार पनि बिहान सबेरै उठी नुवाईधुवाई गरी ७ बजे सबैजना जम्मा भई यात्रा सुरुवात गरियो । बिहान शिव स्तुतिका भजनसहित सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका हुँदै शारदा नदीको किनारै किनार यात्रा अगाडि बढ्यो । बिहानीको समय भएर होला मौसम अनुकूल थियो, करिब ८ बजे छत्रेश्वरी–६, शंखमुलको शङ्ख पार्कमा रोकी किनारमा रहेको शारदा नदीमा सोमबारे स्नान गर्यौ । वि. सं २०७८ मा निर्मित पार्कको अवलोकन, सामान्य पूजाआजा र त्यहाँ रहेको कुण्डमा जल भरियो । सो परिसरमा सिमेन्टबाट बनाइएको सेतो रङमा कुदिएको विशाल शङ्ख साँच्चिकै अद्भुत थियो, दुइवटा कुन्डहरु, शिवजीले पार्वतीलाई काखमा लिनुभएको मुतर््िा, समिको वृक्ष तथा मन्दिर सहितको पार्क, तारबार सहित व्यवस्थित थियो ।
फोटा तथा भिडियो कैद गरी चिया खाई ९ः३० मा छत्रेश्वरी मन्दिरको दर्शनको लागि उकालो बाटो अगाडि लाग्यौ । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–६, मा पर्ने छायाँक्षेत्र मन्दिर परिसरमा पूजाआजा गरियो । पिचाशेश्वर महादेव, छायाँ ढुङ्गाको अवलोकन, सत्ययुगमा सतीदेवीको सम्पूर्ण अङ्कपतन भएको स्थान, छत्रेश्वरी भगवती मन्दिर, संस्थापक नागबाबाको समाधीस्थलको दर्शन तथा अवलोकन, नागाबाबासँग केहीबेर भेटघाट, चिया तथा प्रसाद ग्रहण गरियो । छायाँ ढुङ्गामा आफुले चाहेको कुरा ध्यान गरेर हेरेमा छर्लङग देखिने र सो पुरा समेत हुने किम्वदन्ति पाइयो । नागाबाबाट विभूति ग्रहण र नागाबाबाको आश्रमको लागि आर्थिक सहयोग र खानाका लागि तरकारीको समस्या भएको मेसो पाएर हामीसँग भएको एक बोरा आलु समेत सोही आश्रमको लागि हस्तान्तरण गरियो । १०ः३० मा छत्रेश्वरी सतिपिठ परिसरको बसाइलाई बिट मारि सल्यान जिल्लाको सदरमुकाम खलङ्गा, दुधपोखरा, सिमा खर्क, सल्यान ब्यारेक हुँदै करिब २ बजेतिर वनगाड कुपिण्डे नगरपालिका, सल्यानमा फेदिमा अवस्थित कुपिण्डे तालमा अवलोकन तथा दिउसोको खाना बनाएर खानका लागि पुगियो । सदरमुकाम खलंगाबाट करिब २४ किमि पश्चिममा बाटो ओरालो अनि आसपासका हरिया बोटहरुले घेरिएको सो ताल हेर्दा साँच्चिकै सुन्दर लाग्थ्यो । करिब ५८ एकड क्षेत्रफल, औसत गहिराइ ६९ मि रहेको सो ताललाई सफापानीको तालको रुपमा पनि लिइदो रहेछ । साथीहरु भिडियो खिच्नमा व्यस्त हुनुहुन्थ्यो । हामी चाहि सो प्रकृतिक तालमा डुङगा लिएर बोटिङ गरि एक फेरो मारियो । बाह! कति कञ्चन अनि सफा पानी साथमा वनले भरिएको डाँडाहरुमा मनोरम हरियाली दृष्य सहितको उपत्यका । ह्रदयमा शितलताको महसुस सगै धर्तिको स्वर्गको आभास भयो । नगरपालिका र स्थानीय समितिले काठको र रफ्टिङ स्टाइलको डुङ्गा सञ्चालनमा ल्याएका रहेछन् । वरपर केहि डोके पसलहरु थिए । खाना बनाउदै साथिहरु भने भजन किर्तनमा पनि रमाउनुभयो ।
दिपेन्द्र दाईको हार्मोनियम, पशुपति दाईको बेजोड मृदुङ्गाको तालमा मेरो मुजुरा÷झुर्माले के भेटोस् तरपनि प्रयास रहिरह्यो, रमाइलो चाँहि उत्पातै भयो । तालको पानी अत्यन्त शुद्ध र अनुपम प्राकृतिक मनोरम काखमा अवस्थित भएको हुँदा सो ताल स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्न सक्ने र जलयात्रा लगायत पर्यटन प्रवर्धनको लागि प्रचारप्रसारको कमी भएको पो हो कि भन्ने भान हुँदै ताल परिसरबाट पौने चारतिर खाना खाइवरि भेरीको किनारै किनार ओरालो बाटो अगाडि बढियो ।
करिब ५ बजे सल्यानको रैकर पार गर्दे सुर्खेत जिल्ला प्रवेश गरि कुरिल्ले, गुर्भाकोट, बोटेचौर, मेहलकुना हुँदै भेरीगंगा नगरपालिका छिन्छुमा पुगियो भने भेरी पुल ६ः३० मा तरियो । सुर्खेतको वीरेन्द्रनगरबाट ७ बजे दर्शनको लागि काँक्रे बिहार परिसरमा पुगे पनि गेट बन्द भइसकेकाले भित्र प्रवेश पाइएन, अनि फर्किएर सुर्खेतको शुभ होटलमा आरामदायी बास बसियो । अलि बढी गर्मी भएकाले हाम्रो टोलीले भने स्विमिङ पनि गरियो । यात्राकै दौरानमा सुर्खेत बिरेन्द्रनगरको थ्री स्टार होटल शुभमा आरामदायी बास र व्याञ्जन सहितको स्वादिष्ट खानाको बेग्लै मज्जा लिइयो ।
चौथो दिनः १५ गते मङ्गलबार
बिहान उठी हातमुख धोई, अन्य नित्य कर्महरू पछि कर्णली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरको बुलबुल ताल तथा देउतीबज्यै मन्दिर अवलोकनको लागि गइयो । सो तालमा जमिनमुनिबाट पानी बुलबुल गर्दै बाहिर आउने भएर ‘बुलबुल’ भनिएको रहेछ । नुहाउन र लुगा धुनका लागि कलात्मक धारा र पार्क त्यहाँको प्रमुख आकर्षण रहेछ । वातावरण हरियाली, रमणीय, शान्त र मनोरम रहेछ । देउती बज्यै मन्दिरमा पहिले सुर्खेतमा बसोबास गर्दै आएको पुरानो राजी जातीले गंगामा जाल खेल्न जादाँ देउता भेटिएकाले ‘गंगामाला देउती बज्यै’ नाम रहेको किम्वदन्ति रहेछ । त्यहाँका दृश्यहरू साँच्चिकै नवीन तथा अनुपम लाग्थ्यो । त्यहाँको छोटो दर्शन र अवलोकन पछि ९ बजे सुर्खेतबाट हिँडेर १०ः५० मा दैलेख जिल्ला प्रवेश गरियो । दैलेख प्रवेश सँगै डाँडै भरि लालीगुराँसका अग्ला रुखहरु रहेका ठाउँ गुराँसे पुगियो । त्यसपछि, दिउँसोको खाना दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका नजिक सडकको छेउमा आफै बनाएर खाइयो । सो दिन हाम्रो सहयात्री दुईजनाको जन्मोत्सव परेकाले उहाँहरुले सो दिनको खाना ‘बर्थ डे पाटी’को रुपमा सौजन्य गर्नुभयो अनि संस्थाको तर्फबाट उहाँहरुलाई शुभकामना सहित मायाको चिनो प्रदान गरियो । ठूलो संख्यामा पहेँलो लुगा लगाएर जोगीको भेषधारी मानिसहरुले मुल सडकको छेउमै खाना बनाईरहदा सडक ओहोरदोहोर गर्ने अन्य यात्रुहरुलाई पनि अलि अनौठो लाग्दो रहेछ क्यारे आफ्नो सवारी साधनको गतिलाई कम गरि घोरिएर हेर्नुहुन्थ्यो । अलि बढी गर्मी भएकाले सो दिउँसो भजन गरिएन, नियमित खाना खाइवरि मेलो टुङगाइयो । त्यसपछि, चुप्रा हुँदै दैलेखको सदरमुकामतिर अगाडि बढियो, बाटो धेरैजसो तेर्सो र केही स्थानमा उकालो थियो पिच भने अलि साँघुरो जस्तो लाग्थ्यो । अनि एक स्थानमा भने छोटो बाटो जान मुल सडक छाडेर शाखा कच्ची बाटो करिब ३० मिनेट पार गरेपछि वर्षा पछिको भलले बाटो भत्किएको भन्ने थाहा पाई केहि साथिहरु बाटो हेर्न अगाडि पैदल जानुभयो अरुभने अन्तत गाडी फर्काएर पुनः पिच बाटो नै लागियो ।
दैलेख जिल्ला भन्ने बित्तिकै पौराणिक कथन अनुसार नेपालका विभिन्न कुल÷थरहरूको उद्गम स्थल पनि रहेछ । कतिपय गोत्रका बन्धुहरूले मन्दिर तथा स्मारक समेत बनाएर आफ्नो कुलको उद्गम थलो संरक्षण गरेको रहेछन् । बाटामा स्थानीय जातका आँप बेच्न केही स्थानीयहरू डोको लिएर सडकको छेउमा बसेको पनि पाइयो । यसरी रोमाञ्चक यात्रा गर्दै दैलेख जिल्लाको सदरमुकाममा रहेको एन के होटलमा बास बस्नका लागि गइयो । उच्च स्थानमा सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, कारागार, प्रहरी चौकी, सैनिक ब्यारेक लगायतका जिल्लास्तरीय कार्यालयहरू रहेको सो स्थानलाई खलंगाको रुपमा पनि चिनिँदो रहेछ । बीचमा गाडीमा सामान्य समस्या देखिएकाले मर्मत गरियो । बाटो पहाडी इलाका भएर होला सडकमा सवारीको चाप भने कमै देखिन्थ्यो । यता सहयात्री साथीहरू भने त्यो मध्य पहाडी भूगोल अनि विकट पहाडी जिल्ला अवलोकन गर्दै भित्रैदेखि खुसी हुँदै बसमा आफ्ना सहयात्री साथीहरूसँग इतरिदै, जिस्किदै रमाइलो गर्दै र भलाकुसारी गर्दै अगाडि बढिरहनु भएको थियो । समितिका साथीहरू भने पछिल्लो दिनको यात्राको रुटको अवस्था बुझ्नमा व्यस्त हुनुहुन्थ्यो । त्यहाँबाट हामी मध्य पहाडी पुष्पलाल लोकमार्ग हुँदै जाजारकोट जाने पूर्व योजना रहेता पनि बीचमा वर्षाको कारण पहिरोले बाटो अवरुद्ध भएको सूचना पाई हामी पुनः सुर्खेत फर्कने निधो गरियो तर बाटो भने अघिल्लो दिन गएको भन्दा फरक हुने होला थियो, हामी दुल्लु हुँदै सुर्खेत जाने नयाँ योजना बनाएका थियौँ ।
पाँचौं दिनः १६ गते बुधबार
त्यो बुधबार पनि बिहानै उठी स्नान सँगै नित्यकर्महरू सकि करिब ७ बजेतिर खलंगाबाट ओरालो बाटो हँुदै पंचकोशी ज्वला क्षेत्र लगायतका ठाउँहरुमा दर्शनको लागि पुगियो । केहि समय पैदलै हिडेर पंचकोशीको महत्वपूर्ण धार्मिक तीर्थस्थल श्री शिरस्थान मन्दिर क्षेत्र पहिले दर्शन गर्यौ । पंचकोशी ज्वाला क्षेत्र पनि भनेर चिनिने सो स्थानमा प्राकृतिक रुपमा आफै ज्वालाको रूपमा बलेको दीप देखेर चकित भइयो, अनि मनमनै यही भएर होला दैलेखलाई ग्याँस भएको क्षेत्र भनेर भनेको भन्ने लख काटियो । त्यहाँ भिन्न–भिन्न ठाउँमा तीनवटा निरन्तर बलिरहने प्राकृतिक दीप÷ज्वाला रहेछ । आफै उत्पन्न भएको कहिलै ननिभ्ने ज्पाला दर्शन, परम्परागत शैलीको कलात्मक काठे पुल, पुजारीहरूसँगको छोटो भलाकुसारी पछि हामी नाभिस्थान मन्दिरतिर लाग्यौँ ।
शिरस्थानमा सतिदेवीको शरिर महादेवले बोकेर डुल्दा शिर पतन भएको र तिनै शिवजीका निधारबाट उब्जेका क्रोधित ज्वाला भष्मासुरलाई जलाई सकेपछि ज्वाला÷आगोलाई बटुलेर यस दुल्लु क्षेत्रमा फ्रयाकिएको र ततपश्चात आगो उत्पती भई सदा सर्वदा लोक हितको लागि ज्वलल्यवान रुपमा अखण्ड धुनि बलिरहेको भन्ने महिमा पाइयो । त्यसै गरि करिब १० मिनेटको पैदल दुरिमा खोलाको किनारमा रहेको नाभिस्थान मन्दिर परिसरमा निकै पुरानो विशाल समीको रूख रहेको पाइयो । त्यस रुखलाई पण्डित श्री नारायण दत्त शर्मा रिजालले आफ्नो बाल्यकालमै जाजरकोटबाट बिरुवाल्याई आफ्ना दाजुको परामर्श अनुसार अग्नि दरबार रुपी हुर्काउनु भएको किम्मदन्ती पाइयो । त्यहाँ दर्शन, पुजाआजा तथा सामान्य चियापान पछि भैरवी गाउँपालिका हुँदै अगाडि बढ्ने क्रममा खाजाको लागि त्यति अनुकुल नभएर स्थानिय जातका केरा र अाँप ग्रहण गरियो । त्यसपछि हामी पेट्रोलियम पदार्थको भण्डारको रुपमा चिनिने दैलेखको पेट्रोलियम पदार्थ उत्खनन स्थलमा पुगियो । जहाँ चिनिया कम्पनीले परियोजनाको रुपमा विगतको करिब एक वर्षदेखि पेट्रोलियम पदार्थको उत्खनन गर्दै आइरहेको, करिब चार किलोमिटर गहिराहिमा खनेपछि पेट्रोल प्राप्त हुने आंकलनका साथ अहिले करिब १२ सय मिटर जति खनेर सकिसकेको र उत्खननको कार्य जारी रहेको पाइयो । भित्र छिर्न अनुमति नभएकाले बाहिरबाट केही दृश्यहरू छायाङ्कन गरी सुरक्षाकर्मीसँग केही सूचनाहरू लिई अगाडि बढियो ।
त्यसपछि हामी केहि उकालो बाटो हुदै ऐतिहासिक पर्यटकीय स्थल दैलेखको दुल्लुमा पुगी प्राचिन संग्रहालय बाहिरबाट अवलोकन गरियो । कच्ची ओरालो बाटो सिमसिमे पानी अनि शिव आराधनाका गीतहरूले हाम्रो यात्रालाई थप रोमाञ्चक बनाएको थियो । केहि समयपछि हामी सुर्खेतबाट रारा जाने बाटोमा मिसिन पुग्यौँ र त्यही दिउँसोको खाना होटलमा खायौँ । स्थानीयका अनुसार त्यहाँबाट करिब एक दिनमा मुगु जिल्लाको राराताल पुग्न सकिने जानाकारी पनि पायौ । सो ठाउँबाट कर्णाली प्रदेशका विभिन्न स्थानहरू जानका लागि बसहरू चल्दा रहेछन् । त्यसपछि दैलेख जिल्लाको गुराँसे गाउँपालिकाको बाटो हुँदै अगाडि बढ्ने क्रममा घुमन्ते जीवन बिताउने राउटे जातिको बस्तीमा पुग्यौँ । सडक किनारैको भिरालो स्थानमा उनीहरूको बस्ती थियो । गाउँघरमा त्रिपालले छापेर बनाइए जस्तो घरहरू, बिजुलीबत्ती, पानी, शौचालय विहिन त्यो बस्तीमा विशेषत बालबालिका तथा महिलाहरू एकै ठाउँमा जम्मा भएका थिए । पुग्ने बित्तिकै हामीले फोटो खिच्न लाग्दा केही बालबालिकाहरू भने हातले ‘पैसा दिनु’ भनेर मागेको संकेत गरेजस्तो देखिन्थ्यो । प्रायः पुरुषहरू जङ्गलमा शिकार गर्न गएको कारणले अनुपस्थिति देखियो । उनीहरूको पोशाक हेर्दा निकै नै प्रचिन जस्तो लाग्थ्यो, चेतनाको स्तर कम भए जस्तो देखिने सो बस्तीमा सरसफाई निकै कमजोर देखिन्थ्यो । राउटेका मुख्य मान्छे मुखियासँग सामान्य प्रश्नोत्तर गरियो ।
अनि उनीहरुले आफैले काठ कुदेर बनाएको काठको सामग्रीहरु खरिद गरियो र हामीसँग भएका खाद्यान्नका सामग्रीहरु र पैसाहरु उनीहरुलाई दिइयो । अनि माथि गाडी रोकेको ठाउँमा भने पानी लिन गएका केटाकेटीहरू हामिले बजाएको गीतमा नाचेको हेरियो । त्यो रात छिन्चुमा पुगी पुरानो माछापुछ्रे होटलमा बास बस्यौँ । गर्मी बढेको महसुस हुन्थ्यो, रातको समय तर कोठामा भएको एसीले हामीलाई सहजता प्रदान गरेको थियो । हाम्रो यो यात्राभर खाना शुद्ध शाकाहारी र त्यसमा पनि स्थानीय स्तरमा उपलब्ध चामल, दाल, तरकारी र चटनीका परिकारले हामीलाई केही फरक स्वाद महसुस गराएको थियो । होटलका खाना पनि शुद्ध, ताजा र सफा भएर होला, खाना हामीले सहजै खान्थ्यौं र स्वास्थ्यमा कुनै किसिमको समस्या भएको थिएन ।
छैटौं दिनः १७ गते बिहीबार
अन्य दिन जस्तै बिहान सबेरै उठी नित्यकर्म सकी कालो चिया खाएर यात्रालाई पुनः निरन्तरता दिइयो । ८ः३० बजे सल्लीबजार पुग्यौ । बसमा समस्या भएको कारण मर्मत गरियो । उत्तम दाई र म भने हिडेरै पुल तरेर पारि गएर चिया खायौ । त्यहाँबाट रुकुम पश्चिमको चौरहजारी जाने बाटो छोडेर जाजारकोटतिर अगाडि बढियो । पहाडी बाटो भेरी नदीको किनारै उकालो जस्तो बाटो हुँदै हामी जाजारकोट जिल्लाको सदरमुकाम खलंगा बजारमा पुग्यौ । सबैका लागि खानाको अर्डर पहिले नै भएकाले भेरी नगरपालिका–४, बसपार्क नजिकैको आर. आर. भेरी ग्रिन होटल एण्ड लज हाम्रो स्वागतको लागि तयारीमा थियो । छैठौँ तलामा रहेको रेस्टुरेन्टमा सबैले खाना खायौं । होटलको छतबाट जाजारकोट र रुकुम पश्चिमको चौरजहारी र नागबेली झैँ बगेको भेरी नदीको आसपासका दृश्यहरू निकै मनमोहक र कौतुलताका साथ अवलोकन ग¥यौं । त्यसपछि हामी सदरमुकाममा रहेको भेरी नगरपालिकाको तर्फबाट हाम्रो लागि गरिएको स्वागतमा सहभागी भयौँ । नगर उपप्रमुख आदरणीय सीता जैसीलाई हामी पहिले कार्यकक्षमै भेटी सबै साथीहरु जम्मा भएपछि पालिकाको सभाहलमा गएर छोटो परिचयात्मक कार्यक्रम गर्यौ । उहाँले सम्मानका साथ खादाले स्वागत गर्नुभयो र हाम्रो समितिको तर्फबाट मायाको चिनो उहाँलाई प्रदान गरियो, उहाँको भनाई सुन्यौं ।
भूकम्पले तहसनहस पुर्याएको बस्तीका सम्बन्धमा उहाँको भनाइ सुन्यौ, त्यसपछि हामी ओरालो झर्यौ । बाटामा देखिएका दृश्यले मनै निकै दुखित बनायो, जहाँ प्रायः सबै घरहरुका भग्नाशेष देखिएका थिए । २०८० कात्तिक १७ को भुकम्पले क्षती पुर्याएको क्षेत्रहरुमा नयाँ घरहरू निर्माणको क्रममा रहेको रहेछ । बस्ती बाक्लै भएपनि ढुंगा माटाले बनेका सबै घरहरु ढलेको दृश्य हाम्रो प्रत्यक्ष आँखाले देख्दा मनमा दयाको भावना आयो अनि प्राकृतिक विपत्तिको शक्ति कस्तो हुँदो रहेछ भन्ने महसुस गरियो । त्यसपछि मध्य पहाडी लोकमार्गको बाटो हुँदै सानीभेरी र ठुलीभेरीको संगमस्थल पार गर्दै अगाडि बढ्यौं । त्यसपछिको यात्रा रुकुम पश्चिमको रह्यो पुल तरिसकेपछि पुनः बाटो केही सहज रह्यो । अनि रुकुम पूर्वकोे सल्ली एयरपोर्टमा गएर फोटो खिच्यौं । रुकुम पूर्व खलंगा पनि हेर्यौ त्यही बास बस्ने योजना भएतापनि सिमसिम पानी परेको र बाटोमा खतरा हुने संकेत पछि रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहको होटल लेक सिटीमा बस्यौँ । त्यहाँ पुग्ने करिब १ घण्टा जतिको बाटो अलि जोखिमपूर्ण लाग्यो । सवारी साधनको आवतजावत अलि कम रहेछ, त्यहीँ बास बस्ने क्रममा होटेलका स्टाफसँग रुकुमका विविध पक्षको बारेमा छलफल तथा रुकुम पूर्वको संस्कृतिलाई आधार बनाएर तयार पारिएका डकुमेन्ट्रीहरूको समेत अध्ययन गरियो । ३ वटा मात्र गाँउपालिका रहेको सो जिल्ला आन्तरिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको र मध्यपहाडि लोकमार्ग त्यहाँको विकासमा कोशेढुङगा बन्न सक्ने अनुमान गरियो ।
सातौं तथा अन्तिम दिनः १८ गते शुक्रबार
सो दिन पनि सबेरै उठी नित्यकर्म सकेर चिया खाई होटल परिसरमा फोटाहरु खिची यात्रा अगाडि बढ्यो । सातौं दिनसम्म यात्रा पुगिसके तापनि हामीलाई भने यात्रा उत्तिकै रोचक लाग्थ्यो र यतिका दिन बितेको पत्तै भएन, हामी पहिलो दोस्रो दिनमै यात्रा गरे जस्तो भयो । सर्वप्रथम, कमल दह जुन कमल फूलले ढकमक्क भरिएको पोखरी रहेछ, त्यहाँ रोकियो ।
फोटो खिचियो, खाजा खाइयो र त्यसपछि हामी सिधै मध्य पहाडी लोकमार्गको पहाडी भूभाग हुँदै अगाडि बढ्यौं । बाटामा गाँजाका रुखहरु देखिन्थे, त्यसपछि हामी निसीखोला गाउँपालिका कटेर बाग्लुङ जिल्लाको पातिहाल्ने ठाउँमा पुगीयो, त्यो ठाउँ अलि उच्च भएर होला निकै चिसो लाग्यो । केही समय गाडी रोकेर खाजा खायौँ । भित्र टिनको भाँडोमा आगो बालिएको रहेछ । सबै मिलेर आगो ताप्यौँ, बाहिर साथीहरू जाडो भगाउन गीतमा नाच्दै रमाउँदै हुनुहुन्थ्यो । त्यँहाबाट हिडेको करिब ३ घण्टापछि हामी बाग्लुङ जिल्लाको बुर्तिबाङमा गएर रोकियौं । ढोरपाटन नगरपालिका–१, मा पर्ने स्नेहा होटेल एण्ड लजमा दिउँसोको खाना खाइयो । त्यहाँबाट ढोरपाटन शिकार आरक्ष पुग्न मात्र ३३ किलोमिटर पर पर्दो रहेछ । त्यसपछि हामी बाग्लुङ जाने बाटो छोडेर कालीगण्डकी करिडोरलाई भेटाउन भनी बढीगाड खोला तरी गुल्मीतिर लागियो । पानी ठूलो आएको केही समय रमाइलो सँगसँगै मनमा डर पनि भयो । उतिनै खेर खोला तथा खोल्साहरू बढेर आए हामी भने निरन्तर लागि नै रह्यो । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका हुँदै गुल्मीको रुद्रवेणीमा पुगेर श्रीराम मन्दिरको परिसर कालीगण्डकीको काखमा औपचारिक कार्यक्रम गरी त्यहाँको वृद्धाश्रममा रहनुभएका आमाहरूको लागि एक दिनको भोजन सौजन्य समितिले गर्यो र इच्छुक साथीहरुले पनि सक्दो सहयोग रकम जम्मा गरी रकम हस्तान्तरण गरियो र यात्राको छोटो समीक्षा भयो । अन्तिम दिन भएपनि अन्तिम क्षणमा सबैको परिचय भयो, त्यसपछि हामी कालीगण्डकी करिडोर हुँदै गुल्मी पार गरि स्याङ्जाको कालीगण्डकी गाउँपालिका भेट्न मिर्मीमा कालीगण्डकी तरियो ।
त्यसको करिब १ घण्टापछि जिरोमा खाजा खाई वालिङमा आएर हाम्रो सात दिने यात्रा सम्पन्न भयो । यसैबीच केही साथीहरु गल्याङमा झर्नुभयो त केही साथीहरु वालिङ आसपासका स्थानहरूमा र समय ढिलो भइसकेकाले बसले साथीहरुलाई घरघर नजिकसम्म पु¥यायो ।
यसरी, भगवानको नाम, शंकृतन गर्दै सात दिनसम्म यो बर्खा याममा ति दुर्गम पहाडी भुभागहरु यात्रा गर्दा पनि न साथिहरुलाई कुनै समस्या भयो न त अन्य अवरोध नै । यसबाट भगवानको नाम जपेर बाटो लाग्दा यात्रा आफै सफल हुने जस्तो महसुस गरियो । यात्राका प्रायः सबै सहयात्रीहरु वालिङ आसपासका व्यापारीहरु लगायतका प्रबुद्द व्याक्तित्व भएतापनि उहाँहरुमा कुनै लोभ, इष्र्या एवं ठुल्याइपना कहि कतै झल्किएन, मात्र जिम्मेवार, इमान्दार, आज्ञाकारी र अनुशासित सहयात्रीको रुपमा उत्कुष्ट अनुकरणिय व्यवहार प्रर्दशन गर्नुभयो । विच–विचमा हाँसोमजाक सहित दिल खोलेर भलाकुसारी गरियो । सबैले समितिको मातहतमा रहेर पूर्णरुपमा आचार संहिताको पालना गर्नुभयो । यो यात्रा अविश्मरणीय मात्र रहेन पुर्ण रुपमा सफल पनि भयो यस अर्थमा हामी पुर्वनिर्धारित सबै गन्तव्यहरुमा सहज तरिकाले पुगियो, घुमियो, भरपुर मनोरञ्जन भयो अनि कार्यक्षेत्रमा फर्कदा छुट्टै उर्जा पनि लिएर आयौ । वालिङ बोलबम समितिले यसैगरि देश चाहार्दै, नियाल्दै यात्रामा हिडेको पनि २० वर्ष पुरा भईसकेको सन्दर्भमा म पनि पहिलो पटक २१औं संस्करणमा सहभागी बनेर १३ जिल्लाको भ्रमण गरि यो लेख लेख्ने मौका मिलेकोमा धेरै नै हर्षित छु । आशा छ यो खुसि र उत्साह यात्रामा सहभागी सबैको अन्तरमनको कुनामा ताजै रहेको छ । अन्त्यमा, यो सुनौलो अवसर र साथका लागि वालिङ बोलबम समस्त परिवार, यो विशाल बोलबम यात्रामा सहभागी सम्पुर्णलाई लगायत यात्रा सफल बनाउन प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा जोडिनुभएका सबैलाई कोटि कोटि नमन सहित अभार अनि कृतज्ञता । जगतगुरु भोलेनाथको कुपा सबैमा सधैं रहिरहोस् ।
ॐ नम शिवाय । जय बोलबम !
तस्बिरमा यात्रा
(लेखक श्री बालसिद्ध माध्यमिक विद्यालय वालिङ–७, केवरे भन्ज्याङ स्याङ्जामा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।)