आमा समुहलाई मादल बजाउने तालिम
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका लोक संस्कृतिको संरक्षण गर्न अग्रसर भएको छ। लोक संस्कृति संरक्षणका लागि गाउँपालिकाले आमा समुहका सदस्यहरूलाई मादल बजाउने तालिम संचालन गरेको छ। तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले लोक संस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको बताउनुभयो । स्थानीय बाजा संरक्षणमा पालिका लागिपरेको बताउँदै अध्यक्ष तिवारीले आमा समूह स्थानीय समुदायमा हुने सांस्कृतिक कार्यक्रममा निरन्तर सहभागी हुने भएकाले महिला लक्षित तालिम संचालन गरिएको बताउनुभयो। यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा समेत भूमिका खेल्ने उहाँको धारणा छ।
गाउँघरमा हुने विवाह, व्रतवन्धलगायत विभिन्न धार्मिक – सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोक संस्कृति संरक्षणमा टेवा पुग्ने अध्यक्ष तिवारीको विश्वास छ।
पहिलो चरणको तालिम वडा –१ र ६ का आमा समूहलाई प्रदान गरी बिहीबार सकिएको छ । दोस्रो चरणमा वडा –२ र ३ र तेस्रो चरणमा वडा –४ र ५ का आमा समूहलाई प्रदान गरिने लोक कुमारी काफ्लेले जानकारी दिनुभयो।
तालिममा अर्जुनचौपारी गाउँपालिकाभित्रका ६२ आमा समूह तथा महिलाले नेतृत्व गरेका संघसंस्थाका १३३ जना सहभागी रहेका छन् । तीन चरणमा प्रदान गरिने तालिम माघ १० गतेसम्म चल्नेछ । मादल बजाउने तालिममा सहभागीहरूलाई कलाकार तथा वाद्यवादक श्याम घर्ती जिटीले प्रशिक्षण दिइरहनुभएको छ।