नवग्रह मन्दिरमा करिब ८० लाख भेटी संकलन


नेपालमै पहिलोपटक स्याङ्जाको अर्जुनचौपारीमा निर्माण भएको नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा करिब ८० लाख रुपैयाँ भेटी रकम संकलन भएको छ । फागुन ६ गतेदेखी १४ गतेसम्म भएको धार्मिक महोत्सवमा नगद, बैंक क्युआर तथा खाद्य सामाग्री बिक्रीबाट ७७ लाख ६९ हजार तीन सय २९ रुपैयाँ भेटी रकम संकलन भएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिनुभयो। धार्मिक महोत्सवमा श्रद्धालु भक्तजनहरूले स्वेच्छिक रूपमा गरेको दानबाट उक्त रकम संकलन भएको पोख्रेलले जानकारी दिनुभयो।
सहयोग रसिद तथा बैंक क्युआरबाट ५९ लाख १० हजार आठ सय ८९ रुपैयाँ, दान पेटिकाबाट १६ लाख २६ हजार छ सय ६५ रुपैयाँ र चामल, धान, आलू, आटा खाद्य सामाग्री बिक्री गर्दा दुई लाख ३१ हजार सात सय ७५ रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा जिल्ला भित्र, बाहिर र भारतीय नागरिक गरी १ लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए ।