सकियो धार्मिक महोत्सव: १ लाख २५ भन्दा बढी भक्तजनद्वारा नवग्रह मन्दिरमा पूजाआजा


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ नवनिर्मित भएको नेपालकै पहिलो नवग्रह मन्दिरमा संचालन भएको धार्मिक महोत्सव समापन भएको छ। मन्दिरमा भएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा १ लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् ।

फागुन ६ गतेबाट १४ गतेसम्म ९ दिन भएको धार्मिक महोत्सवको समापन संघीय सांसद राजु थापाले गर्नुभयो। समापन समारोहमा बोल्दै सांसद थापाले धार्मिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउँदै अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विज्ञान र धर्मलाई जोडेर नवग्रह धार्मिक पर्यटनको गन्तव्य बनेको र भावी दिनमा विद्यार्थीको अध्ययननको माध्यम बन्ने बताउनुभयो । गाउँपालिकाको शैक्षिक, धार्मिक तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै सांसद थापाले नवग्रहको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
महोत्सव १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसर पारेर गरिएको थियो । पहिलो दिनबाटै भक्तजनको भीड लागेको नवग्रह मन्दिरमा दैनिक जसो लाइनमा बसेर भक्तजनले पूजा तथा दर्शन गर्नु परेको थियो । धार्मिक महोत्सवमा छिमेकी देश भारत, नेपाल भित्रका सबै जिल्लाका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । महोत्सवमा १ लाख भन्दा बढी भक्तजनलाई निशुल्क भोजनको व्यवस्था गरिएको अध्यक्ष तिवारीले बताउनुभयो।
महोत्सवमा १ करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो । अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहनु भएको थियो भने डाक्टर केएन स्वामीले समेत धार्मिक प्रवचन दिनु भएको थियो ।

१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । महोत्सवको समापनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, गाउँपालिका अध्यक्ष तिवारी , उपाध्यक्ष सपना गुरुङ् लगायतले मन्तव्य राख्नुभएको थियो। महोत्सवको अन्तिम दिन महाशिबरात्रिमा गायक टेक नारायण चापागाई र गायिका देबी घर्ती मगरको स्वर रहेको नवग्रह तिम्रै चरणमा छौ, तिम्रै शरणमा पर्छौ …..’ गीतको छायाँङ्कन पनि गरिएको थियो ।
