आँधिखोलामा भजन चुड्का प्रतियोगिता हुने
आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ । बाला चतुर्दशी यही मङ्सिर १५ गते ’अन्धा अन्धी श्रवण कुमारको महिमा’ भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गर्न लागिएको गाउँपालिका प्रमुख विश्व पौडेलले बताउनुभयो ।
आँधीखोला गाउँपालिका –४ स्थित ऐतिहासिक तथा धार्मिक तिर्थस्थल श्रवण कुमार समाधी क्षेत्र परिसरमा प्रतियोगिता गरिने प्रमुख पौडेलले बताउनुभयो । सोही दिन सतबिज छर्ने लगायत विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरिने छ ।
किंवदन्ती अनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिडेका क्रममा बाबाआमालाई तिर्खा लागेछ ।
नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ । जुन ठाउँमाा श्रवणकुमारको मृत्यु भयो सोही ठाउँमा नै पहिलो पटक भजन चुड्का प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा विजेता हुने टिमले १७ हजार, द्वितीयले १३ हजार, तृतीयले नौ हजार र सान्त्वनाले पाँच हजार रुपियाँ हात पार्नेछन् ।