बुद्धहरूको तथ्यांक संकलन गरौं : उपाध्यक्ष श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा जन्मेका हरेक बुद्धहरुको यथार्थ विवरण संकलन गर्नुपर्ने बताउनुभएको छ ।
कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिष्ठानले विद्या दान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोषस्थापनार्थ अयोजित मातापिता पुजन एवं दामोदर महोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।
“नेपालमा विभिन्न बुद्धहरुको जन्मभयो । यहाँ ज्ञान प्राप्त गरेर प्रचार गर्नुभयो । शाक्यमुनी वुद्ध र जनकका बारेमा धेरैलाई जानकारी छ । वाल्मीकी, व्यास, पतञ्जली, अष्टावक्र, पार्वतीको चर्चा सर्बत्र छ”, श्रेष्ठले भन्नुभयो, “सामान्य मान्छेका लागि यो मित जस्तै लाग्छ । प्रमाणिक आधार अथवा कुनै तथ्यहरु छ कि छैन भन्नेमा मेरो रुचि छ । वस्तुनिष्ठ छ भने तथ्यसंगत ढंगले विवरण संगलन गरौँ ।”
उहाँले वद्धहरुको वस्तुनिष्ठ तथ्य संकलन गर्दा नेपालीलाई गौरव प्रदान गर्ने अन्तराष्ट्रिय स्तरमा पहिचान दिने, सबैले ज्ञान लिन सक्ने बताउनुभयो । “धर्मका नाममा विभिन्न रुढीवादी कामहरु भइरहेका छन् । विज्ञानका विरुद्द धर्मलाई उभ्याउने काम गर्दा धेरै गलत गतिविधि भइरहेका छन्”, श्रेष्ठले थप्नुभयो, “वुद्धत्व, ज्ञान र सिद्धि प्राप्त गर्ने उहाँहरुको विधिलाई वैज्ञानिक दृष्टिकोणबाट हेरौँ ।”
नेपालमा जन्मेर नेपालमै वुद्धत्व, ज्ञान र सिद्धप्राप्त गरेर आउनुभएका, सिङ्गो मानव समाजलाई ज्ञान दिन सक्ने विभिन्न सिद्ध पुरुषहरुको तथ्यगत विवरण संकलन गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।