१९ वर्षको उमेरमा कुरान कण्ठ, अब्दुल कलाम बने हाफिज

फागुन ११, २०८१     स्मार्ट संवाददाता


जश्ने ईद मिलादुन्नबी रस्मे खतमे कुरान कार्यक्रम शनिबार  बयरघारीमा सम्पन्न भएको छ। कार्यक्रममा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ५ थप्रेक निवासी अब्दुल करीमका छोरा अब्दुल कलामले १९ वर्ष को उमेरमा ३० अध्याय ईस्लाम धर्मको धार्मिक किताव कुरान कन्ठ गरी हाफिज बन्न सफल हुनुभएको  छ।

हाफिज भएको खुशियालीमा र्‍याली निकाली हाफिज अब्दुल कलामलाई बयरघारी बजार परिक्रम गरी सम्मान गरिएको थियो। यस मदर्शा (ईदारा) बाट हाल सम्म ५ जना विद्यार्थीहरु हाफिजे कुरान बन्न सफल भएको ईदारा व्यवस्थापन समितिका अध्यक्ष हाजी मोहम्मद मियांँले जानकारी दिनुभयो।

बयरघारी मस्जिदका इमाम मोहम्मद इसुव मियांँले कुरान पढेर कार्यक्रमको शुरुवात गर्नु भएको थियो भने कार्यक्रममा तनहुँ, कास्की, पाल्पा र स्याङजा जिल्लाका मदर्शाका सदरहरु हाफिज मौलानाहरु, मस्जिदका अध्यक्ष तथा इमामहरु, हाजी हजीनहरु स्थानीय मुस्लिमहरुको उल्लेखनीय उपस्थिती रहेको थियो। ईदारा व्यवस्थापन समितिका अध्यक्ष हाजी मोहम्मद मियांँको अध्यक्षतामा  भएको कार्यक्रम सचिव हाजी इनुस मियांँले कार्यक्रम संचालन गर्नु भएको थियो।

स्याङजा जिल्ला भीरकोट नगरपालिका बयरघारीमा करूङ बयरघारी मुस्लिम समुदाय द्वारा २०७६ सालमा स्थापित ईदारा जिल्ला कै पहिलो ईदारा रहेको छ। रमजान महिना पछि ईदारामा थप विद्यार्थिहरुको भर्ना गर्ने अध्यक्ष मियांँले बताउनु भयो।