स्याङ्जामा दुई मोटरेबल पूलको शिलान्यास

मङि्सर १५, २०८१     राम बहादुर रोकाहा


गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले स्याङ्जामा दुई मोटरेबल पुलको शिलान्यास गर्नुभएको छ

।पुतलीबजार नगरपालिका -५ स्थित पवैखोला र बिरुवा गाउँपालिका वडा १ र ८ जोड्ने राक्सेघाट खोलामा बन्ने मोटरेबल पुलको शनिबार मन्त्री केसीले शिलान्यास गर्नुभएको हो ।

उहाँले जनताका आधारभूत आवश्यकता, पूर्वाधार निर्माणमा प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो । मन्त्री केसीले मोटरेबल पुल निर्माण पश्चात् खासगरी बर्खाको समयमा आवातजावतमा हुने समस्याको अन्त्य हुने बताउँदै पुल निर्माण समयमै सक्न र गुणस्तरमा कुनै कमजोरी नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

पवैखोला पुलको शिलान्यासपछि गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेलले विकास निर्माणका काम द्रुत गतिमा अघि बढिरहेको बताउँदै बाड्खोला-पवैगौंडे हुँदै कास्की र तनहुँ जान सहज हुने भएकाले यहाँका केही ठाउँमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो । यसै कुरालाई समर्थन गर्दै प्रदेश सभा सदस्य पञ्चराम गुरुङले यस सडकखण्डको स्तरोन्नति अति आवश्यक रहेकोले बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

यसैगरी, राक्सेघाट खोला पुलको शिलान्यासपछि गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दास, कल्पना तिवारीले पुल बनेपछि स्थानीयले वर्षौंदेखि खेप्नुपरेको सास्ती हट्ने बताउँदै बेलघारी-मेथाभुरुङ-सुन्तलाबारी-त्रियासी सडकको स्तरोन्नति गर्न आवश्यक रहेको र पहल गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

बाड्खोला-पवैगौंडे-टक्सार-दुलेगौंडा सडकखण्डमा पर्ने पवैखोलामा बन्न लागेको पुलको लागत एक करोड ८६ लाख ९२ हजार रुपियाँ र बेलघारी-मेथाभुरुङ-सुन्तलाबारी-त्रियासी सडकखण्डको राक्सेघाट खोला पुल चार करोड ९२ लाख ७१ हजार रुपियाँ लागतमा बन्ने पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख अधिकारीले पवैखोलाको पुल २०८२ साल साउन ६ गते सक्नेगरी राङ्खोला सिद्धबाबा निर्माण सेवासङ्ग र राक्सेघाट खोला पुल २०८२ साल फागुन १२ गतेसम्म सक्नेगरी हिमनिर्माण सेवा काठमाडौंसङ्ग सम्झौता गरेको बताए ।

पवैखोला पुलको लम्बाई १५.६ मिटर, चौडाई ८.४ मिटर र राक्सेघाट खोला पुलको लम्बाई ३१.२ मिटर, चौडाई ८.४ मिटर रहनेछ ।