नागपञ्चमी

साउन २५, २०८१     डा. तुलसी "प्रभास" खनाल


नागपञ्चमी श्रावण शुक्ल पञ्चमीका दिनमा पर्ने हिन्दूहरुको चाड हो । यस दिनमा हिन्दूहरुका घर, मन्दिर, तथा नागका थानहरुमा नाग अर्थात् सर्पको पूजा अर्चना गरिन्छ । यो तिथिमा नागहरुको पूजा गरी प्रसन्न पार्न सकेमा सर्प र चट्याङ्को भय र प्रकोपबाट बच्न सकिन्छ तथा मुलुकमा सुख, शान्ति,संवृद्धि र जनकल्याण हुने जनविश्वास रहिआएको छ ।
नागपञ्चमीको किंवदन्ती १
एकपटक एकजना किसानले खेत खनिरहेको समयमा नागका तीनवटा बच्चा भेट्टायो र सबैलाई उसले मारिदियो । ती बच्चाकी आमा नागिनी आहाराको खोजीमा गएकी थिइन् । फर्केर आउँदा सबै बच्चा मरेको देखेपछि दुखित भई विलाप गर्न लागिन् । उनी रिसाएर मेरा बच्चा मार्नेलाई मार्छु भनी किसानलाई लखेट्न थालिन् । नागिनीले किसानलाई मारेर उसको घरपरिवारलाई चारजनालाई डसेर मारिदिइन् । तैपनि उनको रिस मरेन । घरबाट बाहिर रहेकी किसानकी छोरीलाई फणा उठाएर डस्न लाग्दा नागिनीसँग प्रार्थना गर्दै माफी माग्न थाली । उसले म तपाईँलाई दूध पिउन दिन्छु भन्दै रोई कराई गरी कचौरामा दूध ल्याएर नागिनीको अगाडि राखिदिई । नागिनीलाई भोक, प्यास र थकाइ लागेकाले दूध पिएर आफूलाई शान्त पारी ती कन्यालाई जीवनदान दिइन् । सौभाग्यवशः त्यो दिन श्रावण शुक्ल पञ्चमीको दिन थियो । नागिनी खुसी भएर वरदान माग भन्दा कन्याले मेरा मातापिता र दुवै भाईलाई बचाइदिनुहोस् भनेपछि नागिनीले तथास्तु भनेर सबैलाई बचाइदिएको कारण त्यस दिनलाई नाग पञ्चमीका रुपमा पूजाआजा गर्ने र नागसँग वरदान माग्ने चलन रहेको किंवदन्ती पाइन्छ । हिन्दू धर्मग्रन्थ वेद, पुराण र उपनिषद्हरुमा पनि नाग माहात्म्यका बारेमा उल्लेख भएको पाइन्छ ।



नागपञ्चमीको किंवदन्ती
राजा परीक्षितलाई तक्षक नागले डसेर मृत्यु भएपछि सबै सर्पहरुलाई मार्न भनी सर्पसत्र यज्ञ सुरु गरेको अवस्थामा तक्षक नागकै भानिज आस्तिक, जरत्कारु र मनासादेवी सुपुत्रले अनुरोध गरेर सर्पयज्ञ रोकिएको र सम्पूर्ण नागहरुको उद्धार भएको मानिन्छ । त्यो दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले त्यही समयदेखि नागपञ्चमी पर्व मनाउन थालिएको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।
नागहरु वर्षाका कारण र जलस्रोतका संरक्षक मानिन्छन् । अधिकांश नागका थानहरु पानीको मुहानमा भएको पाइन्छ । नयाँ घर बनाउँदा घरको जगमा नागको मूर्ती स्थापना गरेरमात्र जग बसाल्ने चलन रहेको छ । नागलाई शक्तिका प्रतीक पनि मानिन्छ । मुसाहरु खाएर बालीनाली संरक्षण गर्ने नागहरुले किसानहरुलाई अप्रत्यक्ष रुपले सहयोग गरेका हुन्छन् । सर्पले टोकेर मरेमा अधोगति हुन्छ भन्ने विश्वासले गर्दा सर्प भयबाट मुक्त हुनका लागि पनि नागको पूजा गरिन्छ । नेपाल कृषिप्रधान देश भएकाले बालीनाली संरक्षण र वर्षाको स्रोत नागलाई मानी कृषकहरुले नाग पञ्चमीलाई बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।



नागपञ्चमीका दिन घरघरका मूल ढोका र बाहिरका ढोकाहरुमा नागदेवताको फोटाहरु टाँसेर पूजा गर्ने चलन रहेको छ । यसो गर्नाले वर्षभरि नै नागले घरमा सुखशान्ति र संवृद्धि दिन्छन् भन्ने विश्वास छ । हिन्दू धर्ममा नागलाई सर्पहरुका राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव सिर्जना गरिदिन्छन् । यस्तो संकट नपरोस् भनेर पनि नाग पूजा गर्ने चलन रहेको छ । हिन्दूहरुका आराध्यदेव शिवले नागको माला लगाएको र विष्णु भगवान जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी सुतेको देख्न सकिन्छ । गणेश भगवानको एक हातमा नागवाण रहेको हुन्छ । त्यसैगरी कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मणलाई शेषनागका अवतार मानिन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले पनि नागकन्यासँग विवाह गरेको प्रसङ्ग पुराणहरुमा पाइन्छ । जसको घरमा नागको बास हुन्छ त्यस घरमा लक्ष्मीको बास हुन्छ भन्ने विश्वास पनि रहिआएको छ ।

पूजाविधि
नागपञ्चमीका दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो र कपास राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरु भएको विश्वास गरिन्छ ।

नागपञ्चमीको सांस्कृतिक महत्व
नेपालमा नागपञ्चमीलाई पर्वका रुपमा मनाउने चलन लिच्छवी राजा मानदेवका पालादेखि अर्थात् वि.सं ५२१ बाट सुरु भएको हो । सांस्कृतिक रुपमा यस पर्वको ठूलो महत्व रहेको छ । पहिलेपहिले हातैले कोरेका नागका चित्रहरुमा अनेक रंगहरु भरेर घरका ढोकाढोकामा टाँस्ने चलन थियो । नागलाई  प्रसादका रुपमा खरि, रोटी चढाउने र सबैले प्रसाद बाँडीचुँडी खाने चलन छ । नागपूजा गर्दा गाईको साजी गोबर, बिहानै शितको दूबो, आँप, पीपलका पात, कपास, जौ, तिल गााईको दूध जस्ता सामग्रीमा पनि नेपाली संस्कृति झल्किएको पाइन्छ ।

नागपञ्चमीलाई वर्षको पहिलो पर्व मानिन्छ । यसै पर्वदेखि अरु पर्वहरु लाइन लागेर आउने गर्दछन् । नागपञ्चमीकै दिनदेखि नेवार समुदायले विभिन्न जात्रा तथा लाखे नाचहरु निकाल्ने गर्दछन् । यसले गर्दा पनि नाग पञ्चमीलाई सांस्कृतिक पर्वका रुपमा लिने गरिन्छ ।
नागहरुमा १२ वटा नागलाई प्रमुख मानिन्छ । ती हुन् : १) अनन्त २) वासुकी ३) शेष ४) पद्म ५) कम्वल ६) कर्कोटक ७) अश्वतर ८) धृतराष्ट्र ९) शङ्खपाल १०) कालीय ११) तक्षक १२) पिङ्गल (श्रेष्ठ र राणा, २०७५ : ८९) । त्यसैगरी नागका अष्टकुल भनेर अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक,, कुलीर, कर्कट, र शङ्खलाई मानिएको छ ।
जय नाग देवता !!!