रात्री बसमा सवार युवतीलाई अभद्र व्यवहार, चापाकोटका दुईजना पक्राउ

असोज २०, २०८१     स्मार्ट संवाददाता


सांकेतिक तस्बिर

रात्री बसमा  सवार भीरकोट नगरपालिकाकी एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा काठमाडौंदेखी घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका -५ का २६ वर्षीय कमल शाही र २५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

पीडित किशोरीको जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

`कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।´ भनेर मुलुकी अपराध संहिताको दफा ११८(१) मा उल्लेख गरिएको छ । यदि त्यसो गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।