९० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा चापाकोटका स्वास्थ्य शाखा प्रमुख अख्तियारको फन्दामा
असोज १९, २०८०
१९ असोज २०८० , शुक्रबार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा ९० लाख भन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा स्याङ्जाको चापाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब बिन्दु कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भ्रष्टाचारको आरोप लागेका कोइराला चापाकोट नगरपालिकाका सूचना अधिकारी समेत हुन् l
आयोगले कोइरालाको आम्दानी र खर्चको हिसाबकिताब गरी उनले ९० लाख ३९ हजार ६ सय २० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । कोइराला सरकारी सेवामा रहँदा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा २ करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ l
त्यसैगरी सोही जाँच अवधिमा कोइरालाको ब्यय (खर्च तथा लगानी) तर्फ हेर्दा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, बिबाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिद गरी जम्मा रु ३ करोड ८८ लाख २१ हजार चार सय २२ रुपैयाँ देखिएको छ l अहेब कोइरालाको आम्दानीभन्दा खर्च ९० लाख ३९ हजार ६ सय २० रुपैयाँ ऋणात्मक देखिएको र उक्त रकमको कुनै स्रोत नखुलेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए l
कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ। आयोगले अहेब कोइरालालाई विगो बमोजिम जरीवाना र कैद सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दाएर गरेको छ l अहेब कोइरालाकी श्रीमती गीता विरुद्ध समेत स्रोत नखुलेको र स्रोत खुलेको सम्पत्ति मध्येबाट बिगो र जरिवाना जफत गरीपाउन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।