कोल्डस्टोरमै आलु कुहियो : क्षतीपुर्ती माग्दै किसान, अटेर गर्दै संचालक
अमृत अर्याल,स्याङ्जा
१५ साउन २०७९
जिल्लाको भीरकोट नगरपालिका आलुको पकेट क्षेत्रको रूपमा चिनिएको छ । २०७७ सालको फागुनमा यहाँ आलु महोत्सव पनि गरिएको थियो विशेष गरी वडा नं. ५ को पकान फाँट आलु खेतीका लागि अब्बल मानिएको छ। २०७७ सालमा उन्नत जातको आलु उत्पादन गर्न सफल यस क्षेत्रका किसानले २०७८ का लागि समेत बीउ भण्डारण गर्न नजिकैको शित भण्डारण केन्द्रमा लगेर राखे। २०७८ को मंसीरमा आलुको बीउ निकाल्न जाँदा आफुले राखेको सबै बीउ कुहिएको पाएपछि किसानहरु रित्तो हात घर फर्किन बाध्य भए । भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्।
भण्डारण गरेर राखेको बीउ बिग्रिएपछि यहाँका किसानहरुले महंगो मूल्यमा अन्यत्रबाट बीउ खरिद गरी आलु लगाए । तर किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो स्थानीय किसान रामकृष्ण अर्यालको छ । हामीले पटक पटक ताकेता गर्दापनि हाम्रो क्षतीपुर्तीको माग सुनुवाई भएको छैन अर्यालले भन्नुभयो। नगरपालिका साँची बसेर क्षतीपुर्ती दिने सहमति भएपनि कार्यन्वयन भएन ।’ किसान ठुलो मर्कामा परेका छन्, यस विषयमा स्थानीय सरकारले छिटो कदम चाल्नुपर्छ उहाँले भन्नुभयो । नगरपालिकाले नै विज्ञ टोली खटाएर आलुको बिउ चेकजाँच गर्दा उत्पादन दिन सक्दैन भनेपछि समस्या आएको किसानहरुको भनाई छ।
किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ ११ अमलेस्थित ढुंगाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राख्न पठाईएको तत्कालिन वडाध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताउनुभयो। शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी भण्डारमै बिग्रिदा यहाँका धेरै किसान मर्कामा परेको अधिकारीको भनाई छ ।
महंगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि नगरपालिकाको समेत सहयोगमा शीत भण्डारमा राखिएको तत्कालिन नगरप्रमुख छायाराम खनाल बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि किसानहरुलाई वैकल्पिक व्यवस्था गर्न भनेका हो । भण्डारण गरिएको बीउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौ। निवर्तमान नगर प्रमुख खनालका अनुसार प्रतिकेजी रु ४० का दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन।
आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबिच सम्झौता भई पेस्कीस्वरूप १ लाख ५८ हजार शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताउनुभयो। सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ । भीरकोट नगरपालिकाले हरेक वर्ष किसानहरुलाई मल तथा बीउमा अनुदान दिदै आईरहेको छ ।
शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बीउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुंगानाले बताउनुभयो। शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बीउ हुँदा पनि समस्या आयो सञ्चालक ढुंगानाले भन्नुभयो, ‘तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौं, दिन्छौं । शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उहाँले बताउनुभयो। नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिला भएको सञ्चालक ढुंगानाको भनाइ छ।