बालमैत्री नगरपालिकाले नै मनाएन बाल दिवस

भदौ २९, २०७९


स्मार्ट अखबार संवाददाता
२९ भाद्र २०७९

बाल दिवस २०७८, भीरकोट


स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा औपचारिक रूपमा कुनै पनि कार्यक्रमको आयोजना गरेन। जिल्लाकै पहिलो र गण्डकी प्रदेशको दोस्रो बालमैत्री नगरपालिकाले बाल दिवस नमनाएकोमा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छ्न्।



सामुदायिक विद्यालयहरूमा पहिलो त्रैमासिक परीक्षा संचालन भैरहेकाले कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिएको शिक्षा शाखा अधिकृत नवीन थापाले जानकारी दिनुभयो।  बालमैत्री नगरपालिकाले नै किन मनाएन बाल दिवस भनी  स्मार्ट अखबारले  सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “हजुरले गरेजस्तै चौतर्फी गुनासो आएको छ । वार्षिक कार्यपात्रो बनाउँदा कमजोरी भएकाले बालदिवसको दिन परीक्षा पर्न गयो। त्यसैले कुनै औपचारिक कार्यक्रम आयोजना गरिएन।”

शिक्षा शाखा प्रमुख एवं सूचना अधिकारी विष्णु प्रसाद कोइरालाले भने बाल दिवस विद्यालयमै विविध कार्यक्रम गरि मनाउन र सोको प्रतिवेदन पालिकामा बुझाउन विद्यालयहरूलाई पत्राचार गरिएकोले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिएको बताउनुभयो। भीरकोटमा शिक्षा , खेलकुद र बालबालिका सम्बन्धि कार्यक्रमहरू शिक्षा शाखाले गर्दै आएको छ। निवर्तमान नगर प्रमुख छायाराम खनालको कार्यकालमा बालबालिका सम्बन्धि कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको थियो। तर नवनिर्वाचित स्थानीय सरकारले बालमैत्री क्रियाकलापलाई प्राथमिकतामा नराखेको र पालिकाकै शैक्षिक कार्यपात्रोमा भएका अतिरिक्त क्रियाकलापको अपनत्व समेत लिन नसकेकोमा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छ्न्।      भीरकोटका विद्यालयहरूले भने र्‍याली, नृत्य, वक्तृत्वकला, हाजिरीजवाफ लगायतका विविध क्रियाकलाप गरि बालदिवस मनाएका छ्न्।