ट्याक्टर दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु

साउन २७, २०८१


आइतबार साँझ ६ बजे भएको ट्याक्टर दुर्घटनामा परी स्याङ्जामा  एक जनाको मृत्यु भएको  छ। चापाकोट नगरपालिकाको वडा नं. १० बायोडाँडा स्थित भित्रि सडक खण्डमा बारीकुनाबाट  माटो लिई चापाकोट तर्फ आउँदै गरेको लु.४ त. २२१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक महेन्द्र दमाई घाइते भएका थिए। उनलाई उपचारको लागि चापाकोट नगर अस्पताल लगिएको थियो। अस्पतालमा लगिएका चालक दमाईलाई अस्पतालले साँझ ७ बजे  मृत घोषणा गरेको थियो। मृतक चालक  पाल्पा रामपुर नगरपालिका वडा नं. ०४ देबिस्थान घर भई हाल जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं.-१० बोटेटारमा बस्दै आएका थिए।

अचानक सडकको कुना भित्तामा ठोक्किएर दुर्घटना हुँदा  उक्त ट्याक्टरका चालक २८ वर्षीय महेन्द्र दमाई घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो।