पुतलीबजारको बजेट १ अरब ३२ करोड,पूर्वाधार विकासलाई प्राथमिकता

असार १०, २०८१     नारायणप्रसाद कोइराला


स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८१/८१ को आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। १५ औं नगर सभामा नगर प्रमुख तुलसीराम रेग्मीले नीति तथा कार्यक्रम र नगर उप प्रमुख देवी अर्यालले बजेट प्रस्तुत गरेका थिए।



आर्थिक वर्ष २०८१/८२ का लागि नगर सभामा उप प्रमुख अर्यालले १ अरब ३२ करोड ३४ लाख ८ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्। जसमध्ये चालू खर्च तर्फ रू ५९ करोड ६२ लाख ४० हजार अर्थात् ४०.५ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ ७२ करोड ७१ लाख ६८ हजार अर्थात् ५४.९५ प्रतिशत रहेको छ।



पालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सडक,पुल, सिंचाइ, भवन तथा सहरी विकास, संचार , उर्जा लगायतका पूर्वाधारको विकासका लागि ६६ करोड ६० लाख ५२ हजार १ सय रूपैयाँ विनियोजन गरिएको छ।

संस्थागत क्षमता विकास र सुशासन तर्फ २१ करोड १६ लाख ९१ हजार२ सय ५० विनियोजन गरिएको छ भने शिक्षा , स्वास्थ्य , खानेपानी,सरसफाई , संस्कृति संरक्षण , लैङ्गिक समता एवं सामजिक समावेशीकरणका लागि ३७ करोड ३ लाख १६ हजार १ सय ५० विनियोजन गरिएको छ। कृषी, पशु, सहकारी, पर्यटन , रोजगारी अन्तर्गतका कार्यक्रम संचालन गर्न ५ करोड २२ लाख ७५ हजार ५ सय विनियोजन गरिएको छ। यसैगरी वन, वातावरण , सरसफाइ तथा विपद् व्यवस्थापन गर्न २ करोड २९ लाख ९३ हजार बजेट छुट्याइएको छ।

चालू आर्थिक वर्ष २०८०/८१ मा १ अरब १ करोड ४८ लाख ७६ हजार ५ सय १६ रूपैयाँ बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ७७ करोड, ६५ लाख १२ हजार ४ सय ४० रूपैयाँ अर्थात् ८६.३७ प्रतिशत मात्रै आम्दानी भएको छ।आन्तरिक स्रोत तर्फ ४ करोड ६४ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा जेठ मसान्तसम्म कूल ३ करोड ६६ लाख ४७ हजार अर्थात् ७८.९८ प्रतिशत लक्ष्य प्राप्ति भएको छ।

चालू खर्च तर्फ ५७ करोड ४१ लाख ५ हजार २ सय रूपैयाँ अनुमान गरिएकोमा हालसम्म ४४ करोड ६९ लाख ५८ हजार६ सय ६१ अर्थात् ७७.८४ प्रतिशत मात्रै खर्च भएको छ।पूँजीगत तर्फ ४३ करोड ७७ लाख ७१ हजार ३ सय १६ विनियोजन गरिएकोमा २५ करोड ९७ लाख ६९ हजार ९ सय ९० अर्थात् ५९.३४ प्रतिशत खर्च भएको छ। समग्रमा ६९.८४ प्रतिशत वित्तीय प्रगती हासिल भएको छ।