भीरकोटको बजेट ७८ करोड , ग्रामीण सडक स्तरोन्नतिलाई प्राथमिकता


स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १४ औं नगर सभाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७८ करोड २६ लाख २० हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालले आर्थिक वर्ष २०८१/०८२ का लागी चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार रूपैयाँ र पुँजिगततर्फ १८ करोड ३६ लाख ५० हजार रुपैँया रुपैँयाको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन ।बजेटमा सामाजिक सुरक्षामा १८ करोड खर्च हुने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ का लागी अनुमान गरिएको कुल विनियोजित रकम मध्ये चालू आर्थिक वर्षको मौज्दातबाट १ करोड २० लाख, आन्तरिक राजस्वबाट ४ करोड १७ लाख ७० हजार १७० रुपैँया, संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० करोड ४७ लाख १५ हजार ८७० रुपैँया, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ४३ करोड ५१ लाख ३४ हजार रुपैँया र आन्तरिक स्रोतबाट ९० लाख रुपैँया हुने अनुमान उपप्रमुख अर्यालद्धारा सार्वजानिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।
नगरसभामा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले निति तथा कार्यक्रम प्रस्तुत गर्दै भीरकोटमा चालू वर्षको जेष्ठ मसान्तसम्म २ किलोमिटर १९५ मिटर कच्ची सडकलाई कालोपत्र गरेको, १५ किलोमिटर कच्ची सडकलाई पिसिसि ढलान गरेको र ६ किलोमिटर ७०० मिटर नयाँ सडकको ट्रयाक खोलिएको बताए ।
ग्रामीण सडक स्तरोन्नतिलाई विशेष प्राथमिकता
आर्थिक वर्ष २०८१/८२ को बजेटमा ग्रामीण सडक स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइएको छ। नीति तथा कार्यक्रममा ग्रामीण सडकलाई बाह्रै महिना यातायात संचालन हुने गरी स्तरोन्नति गर्ने उल्लेख भए बमोजिम १८ वटा ग्रामीण सडक स्तरोन्नतिका २ करोड बजेट विनियोजन गरिएको छ। पालिकाका ९ वटै वडाका २/२ वटा महत्त्वपूर्ण सडकलाई लागि १० लाख देखि ३० लाख सम्म बजेट विनियोजन गरिएको छ। बजेट विनियोजन भएका सडकहरू यस प्रकार छन्।
यसैगरी रणनीतिक महत्त्वका सडक मध्ये बानेथोक बयरघारी बिरुवा सडक स्तरोन्नतिको लागि संघ तथा प्रदेश सरकारको समन्वयमा बजेट विनियोजन गरिने उल्लेख छ।बयरघारी ठूली भञ्ज्याङ सडकको लागि २ करोड ८० लाख विनियोजन गरिएको छ भने सुन्दरबजार स्वरेक मैदान सडकका लागि १ करोड विनियोजन गरिएको छ। ग्रामीण सडकहरूको नियमित सरसफाइको लागि वडा नं ३ र ८ को लागि १०/१० लाख र अन्य वडाको लागि ५/५ लाखका दरले जम्मा ५९ लाख विनियोजन गरिएको छ। बयरघारी देखि खिलुङ् देउराली स्वास्थ्य चौकी सम्मको १.५ किमी सडक र ढापुक फेदी देखि ८ नं वडा कार्यालय सम्मको २ सय मिटर सडक कालोपत्रे गर्न सघन सहरी विकास कार्यान्वयन इकाइ पोखरासँगको सहकार्य र समन्वयमा काम गरिने उल्लेख छ।
प्राथमिकतामा भीरकोट पार्क

आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलीरहेको भीरकोट पार्कको स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। पार्क परिसरमा आगामी वर्ष ताल र तालको बिचमा मन्दिर निर्माण गर्नका लागि सो रकम विनियोजन गरिएको हो। फोहरमैला व्यवस्थापन केन्द्र, खेलमैदान र भीरकोट पार्कको विस्तारका लागि जग्गा खरिद गर्न ५० लाख विनियोजन गरिएको छ।
कृषकलाई प्रोत्साहन

गाई तथा भैसीपालन व्यवसायमा संलग्न कृषकलाई प्रोत्साहन गरी दुग्ध उत्पादनमा उत्पादित परिमाणको आधारमा कार्यपालिका बैठकको निर्णय अनुसार गाई/भैसीको दुधमा अनुदान दिन र भैसीपालक किसानहरुलाई थप प्रोत्साहन गरी प्रत्येक सुत्केरी भैसी बराबर रु. ३ हजार अनुदान दिने कार्यका लागि एकमुष्ठ रु. १० लाख विनियोजन गरिएको छ। दूध ढुवानीका लागि दुग्ध उत्पादक सहकारीलाई अनुदान दिन ७ लाख २० हजार विनियोजन गरिएको छ।
चालू आ. व. २८०/८१ वित्तिय प्रगति
भीरकोटमा चालू आर्थिक वर्षकोमा विनियोजन गरिएको ५७ करोड ३३ लाख ३६ हजार मध्ये अहिलेसम्म ४७ करोड २८ लाख ११ हजार ५१५ (सामाजिक सुरक्षा सहित गरेर )८२ प्रतिशत बजेट मात्र खर्च गरिएको छ । पुँजीगततर्फको विनियोजित २० करोड ६७ लाख मध्ये १३ करोड ६८ लाख ३७ हजार ४४० अर्थात् ६६ प्रतिशत मात्रै खर्च भएको छ। यसैगरी ७ करोड ३०लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा जेठ मसान्तसम्म करिब ५ करोड ३७ लाख अर्थात् लक्ष्यको तुलनामा ७३.५५ प्रतिशत मात्र उपलब्धि हासिल भएको छ।