उपभोक्ता मञ्चद्वारा बिपिसिको महशुल वृद्धिको विरोध

जेठ २०, २०८१     स्मार्ट संवाददाता


राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाले बुटबल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धिको विरोध गरेको छ। मञ्चले आइतबार एक विज्ञप्ति जारी गर्दै  बिपिसिले सार्वजनिक सुनुवाइको निष्कर्ष र सरोकारवालाको सहमतिबिना एकतर्फी मूल्य वृद्धि गरेको भन्दै विरोध जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “विद्युत नियमन आयोग मार्फत २०८१ जेठ १ गते बुटवल पावर कम्पनी प्रा. लि. (वि.पि.सी) आँधिखोला वितरण केन्द्रलाई विद्युत महशुल वृद्धि गर्ने सम्बन्धि एकतर्फी निर्णय प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ।”

उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले  सार्वजनिक सुनुवाईको क्रममा बिपिसिले  मुल्य वृद्धि नगर्ने भनेता पनि  सम्बन्धित उपभोक्ता सरोकारवाला संस्थाहरुसँग छलफल र समन्वय समेत नगरी र छलफलमा सहभागी समेत नगराई एकतर्फी रुपमा गरिएको अस्वभाविक मुल्य वृद्धि गरिएकाले मञ्चले विरोध गरेको बताए। उनले मञ्च उपभोक्ताको पक्षमा रहेको बताउँदै र मूल्य वृद्धि   फिर्ता गर्न बिपिसिलाई विज्ञप्तिमार्फत दबाब दिएका छन्।