सन्त निरंकारी मण्डल,बयरघारीले मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोग र सन्त निरंकारी मण्डलको आयोजनामा आयोजक संस्थाको कार्यालय बयरघारीमा आयोजित रक्तदान कार्यक्रममा भीरकोट नगरपालिका र भीरकोटमा कृयाशील सामाजिक संघसंस्थाहरूको सकृय सहयोग, समन्वय, सहजीकरण र सहभागिता रहेको थियो।रक्तदान कार्यक्रममा भीरकोट जेसिज, बयरघारी पिस युथ क्लब ,नेपाल रेडक्रस सोसाइटी , दहथुम उपशाखा र महापुर उपशाखाको सकृय सहभागिता रहेको थियो।
“रगत नालीमा होइन,नाडीमा बगाऔं ” भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमा ६९ पिन्ट रगत संकलन भएको आयोजक संस्थाका सल्लाहकार भीम बहादुर थापाले जानकारी दिए।२९ जना महिला र ४० जना पुरूष गरि जम्मा ६९ जनाले रक्तदान गरेका थिए।संस्थाका अध्यक्ष याम बहादुर खत्रीका अनुसार २०६४ सालदेखी निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ। संस्थाका करिव ५ सय सदस्यहरू मानवताको सेवामा निस्वार्थ रूपमा जुटिरहेका छन्। संन्त निरंकारी मिसनले हरेक वर्ष २४ अप्रिलका दिन मानव एकता दिवस मनाउँदै आएको छ। तर सकेसम्म बढी रक्तदान होस् भन्ने हेतुले शनिवार कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ। संकलित रगत स्याङ्जा अस्पताल र गह्रौ प्राथमिक अस्पताल, वालिङ पठाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका मन्त्री रामचन्द्र अर्यालले जानकारी दिए।