बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन


नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ। अर्थमन्त्री पौडेलले उद्घाटन एउटा औपचारिकता भएपनि प्रशासकीय भवन जनताको र जनप्रतिनिधिको साझा कार्यालय भएको धारणा राख्दै
सुविधाजनक ढंगले गुणस्तरीय सेवा प्रदान गर्न सदुपयोग हुने विश्वास गर्नुभयो। अर्थमन्त्री पौडेलले विकसित र समृद्ध विरूवाको निर्माणको निम्ति गाउँपालिकाले बुझाएको मागपत्र अनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्याङ्जा आफ्नो जन्मभूमि भएको स्मरण गर्दै उहाँले स्याङ्जाप्रतिको अभिभारा र ऋण तिर्न लागिपर्ने बताउनुभयो। उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिको लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। सिद्धार्थ राजमार्गको घुम्ती सुधार गरेर डेडिकेटेड डबल लेनको सडक बनाउने गरि सरकार अगाडि बढीरहेको बताउँदै स्तरोन्नति पश्चात् १ घण्टा ३० मिनेटमै पोखरा बुटवल यात्रा गर्न सकिने दाबी गर्नुभयो। यसैगरी उहाँले ज्याग्दी करिडोरको विकासका लागि संघीय सरकारको योजनामा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो।

संघीय सांसद राजु थापा संघीयताले गाउँगाउँमा प्रशासकीय सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको बताउनुभयो। २०४८ साल यता देशमा धेरै भौतिक विकास भएको उल्लेख गर्दै विरूवाको समृद्धिको लागि ज्याग्दी करिडोर र तटबन्धनलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेललाई अनुरोध गर्नुभयो। यसैगरी, सांसद थापाले समग्र स्याङ्जाको विकासको लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।
नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालगाउँपालिकाको प्रशासकीय भवन विकास समृद्धि र सहकार्यको प्रतीक भएको बताउनुभयो। अर्यालले योजनाबद्ध र व्यवस्थित विकास गर्न गाउँपालिकालाई सुझाव दिदै गाउँपालिकाको समृद्धि र विकासमा साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., संघीयता पश्चात् जनताले घरदैलोमै प्रशासकीय सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो । खानेपानी, सडक, संचारको राम्रो विकास भएको भएपनि जनताको अपेक्षा अनुसार काम हुन बाँकी रहेको बताउनुभयो। ठूला उद्योगपतिलाई पोस्ने बजेट भन्दा गाउँमा बस्ने कृषक, सर्वसाधारणको हित हुने बजेट निर्माण गर्न र स्वास्थ्य र शिक्षालाई सर्वसुलभ बनाउन अर्थमन्त्री पौडेललाई अनुरोध गर्नुभयो।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पालिकाको समृद्धिको लागि विभिन्न रणनीतिक महत्वका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल , पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकासको लागि बजेट विनियोजन गर्न अनुरोध गर्दै अर्थमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो।

समुद्घाटन समारोहमा गाउँपालिकाका पूर्व अध्यक्ष चुन प्रसाद शर्मा, पूर्व मन्त्री दिपक चर्ती मगर, प्रदेश सभा सदस्य सीता सुन्दास लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।समुद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला समन्वय समितिका उपप्रमुख खड्क प्रसाद सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य कुमार गैरै ( पारश), पूर्व मन्त्री किरण गुरुङ , अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा , हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पालिकाको समृद्धिको लागि विभिन्न रणनीतिक महत्वका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल , पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकासको लागि बजेट विनियोजन गर्न अनुरोध गर्दै अर्थमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो।
प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यले प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रशासकीय भवनमा सुरक्षा गार्ड र क्यान्टिन सहित २९ वटा कोठा रहेका छन्। ७ करोड ९९ लाख ७० हजार १ सय ८१ रूपैयाँ लागतमा निर्माण भएको भवन निर्माणका लागि गिताश्री कृयटिभ जेभी २०७७ असार ३१ गते सम्झौता भएको थियो। २०८० मसिंर ९ मा निर्माण सम्पन्न भएको भवनबाट २०८१ साउन १ गतेदेखि सेवा प्रारम्भ गरिएको थियो।