भीरकोट बसपार्क पुन: संचालन हुँदै

असार १४, २०७९


स्मार्ट अखबार संवाददाता
१४ असार २०७९

भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ४ वर्ष अघि निर्माण गरिएको बसपार्क पुन: संचालन ल्याइने भएको छ । आज नगरपालिकामा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सरोकारवालाबिच भएको छ्लफलबाट बसपार्कलाई पुन: संचालनमा ल्याइने निर्णय गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो । भोलि बजार क्षेत्रमा माइकिङ गरेर बसपार्क संचालनको विषयमा व्यवसायी र सर्वसाधारणलाई सूचित समेत गरिनेभएको छ । उहाँका अनुसार भोलि देखिनै बसपार्क प्रयोगमा ल्याइने छ ।

असार १५ देखि भाद्र मसान्त सम्म सवारी साधन पार्किङ बापत कुनै शुल्क नलाग्ने उहाँंले बताउनुभयो । त्यसपछि भने भीरकोट नगरपालिकाको आर्थिक ऐन-२०७९ अनुसार पार्किङ शुल्क लाग्ने नगर प्रशासनले जनाएको छ। नगरपालिकाले बसपार्क संचालन तथा व्यवस्थापनको विषयमा एक सार्वजनिक सूचना जारी गर्दै बसपार्कमा सवारी साधन पार्किङ नगर्ने यातायात व्यवसायीहरूलाई कानुनी कारबाही समेत गरिने बताएको छ। करिब १० लाख खर्चेर निर्माण बसपार्क नियामक निकाय नगरपालिकाको वेवास्ता र व्यवसायीहरूको लापरबाहीका कारण अलपत्र परेको थियो ।

नगरपालिकाले १२ जना जग्गाधनीको १५ रोपनी जग्गा भाडामा लिएर संचालन गरेको बसपार्कको भाडा बापत मात्रै करसहित प्रति रोपनी १७ हजार ४५ रूपैयाँका दरले वार्षिक २ लाख ६२ हजार ९ सय ३१ रूपैयाँ खर्च हुन्छ। २०७५ साल भदौ १ गते देखि लागू हुनेगरी २०८५ साल असार मसान्तसम्म १० वर्षको जग्गा सम्झौता गरिएको छ।जग्गाधनीलाई प्रत्येक आर्थिक वर्षको कार्तिक मसान्तभित्र नगरपालिकाले गरिमा विकास बैंकको खातामै रकम जम्मा गरिदिन्छ ।

४ वर्षको अवधिमा बसपार्क निर्माण र जग्गा भाडा बापत २० लाख भन्दा बढी रकम खर्च भैसकेको छ। तर बसपार्क निर्माणको उद्देश्य अनुरूप उपयोगमा आउन सकेको थिएन। बसपार्क प्रयोगमा आएको खण्डमा सिद्धार्थ राजमार्ग र सहायक मार्गमा अव्यवस्थित रूपमा सवारी साधन पार्किङ हुँदा हुने सडक दुर्घटनाको जोखिम कम हुने निश्चित छ ।