बाल अधिकार संरक्षणमा प्रतिबद्ध छौँ : नगर प्रमुख कर्माचार्य

फागुन २३, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२३ फागुन २०७९

बिज्ञापन

भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले नगरपालिकाको बाल अधिकार संरक्षणमा प्रतिबद्ध रहेको बताएका छ्न्। फागुन २२ गते सोमबार आयोजित दोस्रो बालमैत्री दिवस समारोहमा बोल्दै नगर प्रमुख कर्माचार्यले सो प्रतिबद्धता गरेका हुन्। उनले भने, “बालबालिकाको शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न हामी निरन्तर लागिरहने छौं।”

सोमबार आयोजित समारोहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र बालमैत्री दिवसको सन्दर्भमा आयोजित अतिरिक्त क्रियाकलापहरूको पुरस्कार वितरण गरिएको समेत थियो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भू.पु. सैनिक आवासीय मा.वि. प्रथम, शहिद शुक्र मा.वि. द्वितीय र भाग्योदय मा.वि. तृतीय भएका थिए। विजेता विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र, शिल्ड र मेडल समेत वितरण गरिएको थियो। यद्यपि प्रतियोगितामा प्रथम भएको भू.पु. सैनिक आवासीय मा.वि. लाई भने रनिङ शिल्ड दिइएको छैन। राष्ट्रपति रनिङ शिल्ड समुद्घाटन प्रतियोगितामा देखाइएको शिल्ड पुरस्कार वितरण समारोहमा भने गुपचुपमै राखिएको पाइएको छ। नगर प्रमुख कर्माचार्यले खेल संचालनको क्रममा भएको त्रुटीका कारण विजेतालाई शिल्ड नदिइएको बताएका थिए।

२०७७ फागुन २२ गते शनिबार भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोश्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ लाई भीरकोटले बालमैत्री दिवसको रुपमा मनाउदै आएको छ।
सोमबार आयोजित बालमैत्री दिवस समारोहमा बोल्दै राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीले भने, “नगरपालिकालाई बालमैत्री घोषणासंँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ ।” रेग्मीले नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने बताए ।”

बालमैत्री दिवस समारोहमा बोल्दै निवर्तमान नगरप्रमुख छायाराम खनालले बालबालिकाको उज्वल भविष्यको लागि बालबालिकामा गरिएको लगानीको प्रतिफल स्वरुप बालमैत्री नगरपालिका घोषणा भएकोले राष्ट्रको प्रगतिको लागि यो अभियान एउटा कोशेढुङ्गा बनेको बताए ।

नगर उपप्रमुख भगवती रेग्मी अर्यालको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसी, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश कोइराला, शिक्षा समिति सदस्य देवकी रेग्मी, दहथुम माविका प्रधानाध्यापक तोयनाथ कोइराला, प्याब्सनका अमृत अर्याल, विद्यार्थी आयुष ढुंगाना लगायतले बालमैत्रीको बारेमा बोलेका थिए ।
बालमैत्री कार्यक्रम भएपनि बालबालिकाकाको बाल प्रतिभा प्रस्तुतिलाई कटौती गरी प्रतिभालाई भन्दा भीरकोटका पुरानै नेता कार्यकर्ताका भाषणलाई प्राथमिकता दिइएकाले बालमैत्री समारोहले बालबालिकामा भने कुनै उत्साह ल्याउन नसकेको सहभागीहरू विद्यार्थीहरूले बताएका थिए ।