सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न

असोज ०४, २०८१     मोहन गुरुङ , काठमाडौं


त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायहरुमा आधिकारिक भाषा प्रयोग, पुनरुउत्थान र भाषिक–सामाजिक न्याय’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा आयोजित गोष्ठी आज शुक्रवार भाषाविज्ञान विभागको सभाहलमा सम्पन्न भएको हो ।



गोष्ठीलाई भाषाविज्ञान विभागका प्रा. डा. बलराम प्रसाईंले परियोजनाको ‘पृष्ठभूमि र विकासक्रम’ का विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रा. डा. प्रसाईंले परियोजनाको विषयवस्तु गहन भएकाले चुनौतिका रूपमा रहेको पनि औल्याउनुभयो ।



परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. भिमलाल गौतमले ‘परियोजना र कार्ययोजना’ बारे सहजीकरण गर्नुभएको थियो । सात वटा प्रदेशबाट ५ सयभन्दा बढीसँग सर्वेक्षण तथ्याङ्क संकलन गर्ने कार्ययोजना रहेको डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै तथ्याङ्कशास्त्री डा. दीर्घराज जोशी रेग्मीले ‘अनुसन्धान पद्धति र मात्रात्मक उपकरण’, डा. प्रेम प्रसाद पौडेलले ‘अनुसन्धान पद्धति र गुणात्मक उपकरण’, डा. हरिमाया शर्माले ‘गुणात्मक डेटाको लागि फिल्डको पूर्वतयारी’ र डा. विनोद यादवले ‘कार्ययोजनामा आधारित अनुसन्धाताहरुसँग समन्वय’ विषयमा सहजीकरण गुर्नभएको थियो ।

परियोजनामा भाषा विज्ञानका ‘एमफिल पिएचडी’ अध्ययनरत अनुसन्धाताद्वय शारदा सापकोटा र मोहन गुरुङ रहेका छन् । यस्तै गरी अर्का अनुसन्धाता श्याम कुमार शाह रहेका छन् ।

परियोजनाका लागि विभिन्न शिक्षाशास्त्री, नीति निर्माता, सामाजिक अभियन्ता आदिबाट अन्तर्वार्ता र छलफल विधिबाट पनि तथ्याङ्क संकलन गरिने र सोही अनुसारको विश्लेषण र प्रबोधीकरण गरिने प्रमुख अनुसन्धाकर्ता डा। गौतमले जानकारी दिए ।

यस्तै भाषा विज्ञान विभागका प्रमुख सहप्राध्यापक डा.कर्णाखर खतिवडाले अनुसन्धानले नेपालको बाहुभाषिक भाषिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । कार्यक्रममा विभागका प्राध्यापकद्वय डा. कृष्ण चालिसे र डा. तारामणि राईले अनुसन्धाले नेपालको भाषा र भाषिकहरुको अवस्थाबारे सही अनुसन्धान हुने आशा व्यक्त गर्नुभयो ।

अनुसन्धान अवधि साढे दुई वर्ष रहनेछ ।