तिहार आज बाट सुरु, भाईटिकाकाे उत्तम साइत बिहान ११:२ मा
कार्तिक १६, भीरकोट
हरेक वर्ष कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि शुरु हुने हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार आज बाट शुरु हुने भएता पनि यस साल काग र कुकुर तिहार भोलि अर्थात कार्तिक १७ गते बुधबार एकैदिन परेको छ। यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । त्यसैगरी गते आज नै कुकुर तिहार पनि परेको हुनाले कुकुरको पनि पुजा गरिन्छ । कुकुरलाई पनि यमदुतका रुपमा लिइन्छ । कुकुर तिहार र नरक चतुर्दशी एकै दिन मनाइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो ।कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिदैन,विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने,अध्ययन अनुसन्धानमा सघाउने कार्य पनि कुकुरले गर्छ ।कुकुरले घरको रेखदेख तथा चोर डाँकाहरु बाट बचाउने कार्य गरि मानिसलाई सहयोग गर्दै आएको छ ।कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुर लाई मन पर्ने खाना ख्वाई पुजा गरि माला लगाइदिन्छौं।साथै यो दिनलाई नरक चतुर्दशी पनि भनिने हुँदा बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ । काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको पाईन्छ । कात्तिक १८ गते बिहीबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।
कूल परम्परा अनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेको पाइन्छ । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवंम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक १९ गते कात्तिक शुक्ल प्रतिपदाका दिन शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहार समेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ । कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २० गते शनिबार भाइटीका परेको छ । यस साल भाइटीकाको साइत बिहान ११:२मा रहेको र चन्द्रमा उत्तर दिशामा रहेको हुदा उत्तर वा पश्चिम मुख पारि टीका थाप्नु शुभ मानिएको छ।तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ । कात्तिक २० गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।
(ज्यो.पण्डित यामनाथ रेग्मी सम्पर्क:९८४६७५८८२५)