जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालमैत्री गतिविधिले तिब्रता पाउन थालेका छन्। वडाहरूले समेत बालमैत्री कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलाप, सचेतना अभिवृद्धि र खेलकुदलाई प्राथमिकता दिएका हुन्। ९ वडा रहेको नगरपालिकामा हरेक वडाहरूले बालमैत्री कार्यक्रममको लागि कम्तिमा १ लाख बजेट छुट्याएका छ्न्।
वडा नं ८ को कार्यालयले बालमैत्री कार्यक्रम अन्तर्गत शुक्रबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। स्थानीय सरकार संचालनमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा वडाका १० जना बालबालिकाले भाग लिएका थिए। प्रतियोगितामा पब्लिक एकेडेमीका छात्रा भगवती रेग्मी प्रथम, भाग्योदय मा.वि. का कुसुम रेग्मी द्वितीय र बालोदय मा.वि. का बिनिशा खनाल तृतीय भएका छन्।यसैगरी बालोदय मा.वि. कै एलिसा मगरले शान्त्वना स्थान प्राप्त गरेकी छ्न्।
नगरपालिकाले मात्रै बालमैत्री गतिविधि गर्दै आएकोमा वडा नं ८ ले फरक अभ्यास गर्दै पहिलोपटक अतिरिक्त क्रियाकलाप संचालन गरेको हो। विजेता विद्यार्थीहरूलाई क्रमश: २ हजार, १ हजार ५ सय , १ हजार र ५ सय नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको वडाले जनाएको छ।
कार्यक्रमकै दौरान बालबालिकाहरूलाई खेलकुद सामाग्री पनि वितरण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताए। बालमैत्री गतिविधिलाई गाउँ टोल स्तरबाटै माथी उठाउन र बालमैत्री शासनमा बालबालिका प्रतिको दृष्टिकोण र अवस्था परिवर्तन गर्न वडामा कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए।
अध्यक्ष खनालले आगामी आर्थिक वर्ष २०८०/८१ देखि वडा नं ८ मा जन्मने हरेक बालबालिकाको खातामा वडाले ५ हजार जम्मा गरिदिने बताए। बच्चाको जन्मदर्ता सँगै खोलिने उक्त खातामा परिवारले पनि ५ हजार जम्मा गर्नुपर्ने र १८ वर्षसम्म उक्त रकम झिक्न नपाइने खनालको भनाई छ। बालबालिकाको उच्च शिक्षा प्राप्तिको चाहना पूरा गर्न सहज होस् र भविष्य सुरक्षित होस् भन्ने हेतुले उक्त योजना लागू गर्न खोजिएको खनालले जानकारी दिए।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बालमैत्री शासनलाई प्रभावकारी बनाउन वडा र नगर सक्रिय रूपमा लागि परेको बताए। सचेतनाका गतिविधि , खेलकुद र अतिरिक्त क्रियाकलापलाई नगरले प्राथमिकतामा राखेको उनको भनाई छ। बालबालिकाले अनुभूति गर्ने गरि नगरपालिकाले काम गरिरहेको बताउँदै उनले बालविवाह , बालश्रम, मादक पदार्थ सेवन लगायतका विकृति रोक्न सबै लाग्नुपर्ने बताए।