“बा को मुख”

भदौ ११, २०७९


११ भदौ २०७९

आज बल्ल फुर्सदमा बा को
मुख हेर्ने अवसर मिल्यो ।

बा को मुख
हेर्ने दिन,
मैले आफ्नो
जन्म, पास्नी, ब्रतबन्ध, बिहे हेरेँ
बहिनीको पढाइ हेरेँ, कन्यादान हेरेँ
आमाको तिज हेरेँ , तिहार हेरेँ ।
साउको प्रश्न
समाजको उत्तर
सबै हेरेँ
बा को टाउकोमा कपाल
के का बोझले झरेको रहेछ,
बल्ल थाहा भो ।

छोरो जन्माएछस्, के बनाउँछस ?
छोरी जन्माएछस्, कसरी अन्माउँछस् ?
मुग्लानमा कति कमाईस् ?
श्रीमतीको भर मान्छस्?
समाजको डर मान्छस् ?
बुढेसकालमा के गर्छस् ?
दशैँ आयो थाहा पाईस्?
सधैँ भोलि, सधैँ भोलि कति भन्छस्?
सबै हेरेँ
बा का निधारभरी दाग
के का प्रश्नले बनाएछ
बल्ल थाहा भो ।

बाढिले खेत लग्यो
साउले इज्जत लगे
श्रीमतीले खुसी लगिन्
पराईले छोरी लगे
बुहारीले छोरो लगि
खाडीले जवानी लग्यो
सबै हेरेँ
बा का गालाभरी
खाल्डै खाल्डा
कसले बनाएछ
बल्ल थाहा भो ।

आज बल्ल थाहा भो
सबै हाँस्दा
बा का आँखा किन हाँस्दैनन् ।
आज बल्ल थाहा भो
सबै दुखी हुँदा
बा का ओंठ किन दुखी हुँदैनन् ।
कति सुन्नुपर्छ, आज थाहा भो
कति बोल्नु पर्छ, आज थाहा भो
कति चिँउडो झोक्किनुपर्छ आज भो
कती निधार ठोक्किनुपर्छ आज भो ।
कहाँ कहाँ गर्धन झ्याक्किन्छ, आज थाहा भो ।
कहाँ कहाँ नाक न्याक्किन्छ,
आज थाहा भो ।
बा,
आज मैले बल्ल तिम्रो मुख हेरेँ ।
बा जत्ति बलवान् बन्न सकियोस् ।
बा जत्ती जिम्मेवार बन्न सकियोस् ।
बा हिँडे जसरी हिँड्न सकियोस् ।
बा बाँचे जसरी बाँच्न सकियोस् ।
बा,
मेरो छोराले
मेरो मुख हेर्छ कि हेर्दैन होला है ?