भीरकोट महिला बहुउद्देश्यीय सहकारीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
असोज ०६, २०८०
स्मार्ट संवाददाता, भीरकोट
२०८० असोज ६, शनिवार
उत्पादनमूलक कार्यहरू मार्फत आर्थिक आत्मनिर्भरतामा जोड दिई महिला सशक्तीकरण गर्ने उद्देश्यले स्थापित भीरकोट महिला बहुउद्देश्यीय सहकारीले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। “आजको बचत,भोलिको भविष्य” को नारालाई आत्मसाथ गर्दै महिलाको क्षेत्रमा मात्र काम गर्ने गरी स्थापना भएको भीरकोट नगरपालिका भरीको एक मात्र महिला बहुउद्देश्यीय सहकारीमा २०७८ वैशाखमा स्थापना भएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै निवर्तमान नगर प्रमुख छायाराम खनालले शेयर सदस्यहरूलाई संस्थाबाट लिएको ऋण उत्पादनमूलक काममा मात्र लगानी गर्न, परिवारमा मात्रै आश्रीत नभएर उद्यमशील र आत्मनिर्भर बन्न, संस्थाका आर्थिक गतिविधिका बारेमा जानकार रहन सुझाव दिएका थिए। सहकारी र शेयर सदस्य दुवैको उन्नति प्रगतिको लागि सहकारीमा अनिवार्य बचत गर्न, संस्थासँग मात्रै बचत तथा ऋण कारोबार गर्नुपर्ने उनको धारणा थियो। खनालले सहकारीका सिद्धान्त पालना गर्न संस्थाका सबै सरोकारवालालाई सुझाएका थिए।
निवर्तमान नगर उप प्रमुख सिमा के.सी. कर्माचार्यले सहकारीले आफ्नो अभियानमा भीरकोट नगरपालिकाभरीका महिला सदस्यहरूलाई जोड्दै शेयर सदस्य संख्या बढाउन सफल भएकोमा खुशी व्यक्त गरेकी थिइन् ।
नगर प्रवक्ता एवं वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी. ले संस्था स्थापनाको अनुरुप महिला शसक्तिकरण,उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सहकारीका शेयर सदस्यहरूलाई आग्रह गरेका थिए।
३२ जना शेयर सदस्यहरूले सुरू गरेको यो सहकारीमा हाल ७०६ जना शेयर सदस्य पुगेका छन्। स्थापनाको दोस्रो वर्षमै सहकारीले १ करोड ४८ लाख ४३ हजार ९ सय निक्षेप जम्मा गर्न र २ करोड १४ लाख ८६ हजार ८ सय रूपैयाँ कर्जा लगानी गर्न सफल भएको छ।सहकारीको चुक्ता पूँजी ९४ लाख २८ हजार ३ सय रहेको छ। गत आर्थिक वर्ष २०७९/८० मा संस्थाले १२ लाख ५४ हजार मुनाफा आर्जन गरेको छ।
शनिबार बसेको साधारणसभाले अध्यक्ष चण्डिका सापकोटा अर्याल, कोषाध्यक्ष शान्ति अर्याल, लेखा सुपेरीवेक्षण समितिका संयोजक शारदा अर्याल, नि. व्यवस्थापक बेलमाया हमाल लामिछानेले प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको छ।यसैगरी साधारणसभाले आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, चालू आर्थिक वर्षको लेखापरीक्षक नियुक्ती र पारिश्रमिक , आव २०८०/८१ को बजेट , नीति तथा कार्यक्रम पनि पारित गरेको छ।