अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्य : मन्त्री पाण्डे

फागुन ०६, २०८१     स्मार्ट संवाददाता


नेपाल सरकारका पर्यटन , संस्कृति तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले  अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य  बनेको  बताउनुभएको छ। मंगलबार  गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिरको उद्घाटन गर्दै मन्त्री पाण्डेले अर्जुनचौपारी धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य स्थल बनेको बताउनुभएको हो।

अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ जलबराह धार्मिक  वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरमा आजबाट धार्मिक अनुष्ठान, गीताज्ञान महायज्ञ पनि शुभारम्भ भएको छ।महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुनेछ भने गीताज्ञान महायज्ञको प्रमुख वाचकको रुपमा चैतन्य कृष्ण रहनुहुनेछ।

समारोहमा बोल्दै संघीय सांसद् राजु थापाले अर्जुनचौपारी गाउँपालिकामा बनेको नवग्रह मन्दिरले सामाजिक तथा धार्मिक आस्थामा नयाँ आयाम थपिएको बताउनुभयो। उहाँले नेपाल सरकारले समेत यस्ता धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।गण्डकी प्रदेश सांसद् कल्पना तिवारीले गण्डकी प्रदेशले धार्मिक पर्यटनको दृष्टिकोणले संभावना बोकेका ठाउँहरूको खोजी गर्न तथा विकास गर्न प्रयास गरिरहेको बताउनुभयो।

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले नवग्रह मन्दिरको विषयमा प्रष्ट पार्नुभएको थियो। उद्घाटन समारोहमा  स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, स्याङ्जा प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय, शिक्षक, पत्रकार लगायत हजारौं सरोकारवालाहरु उक्त कार्यक्रममा उपस्थिती रहेको थियो।