स्थानीय जातको गाई पाल्नेलाई मासिक एक हजार
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय जातको गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालन गर्दै स्थानीय(पहाडे) गाई पाल्ने किसानलाई प्रोत्साहन रकम दिन लागेको हो ।
सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको राष्ट्रिय जनावर गाई पाल्नेको संख्या घटिरहँदा पालिकाले यो अभियान ल्याएको हो । अर्जुनचौपारीको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालनका लागि इच्छुक गाईपालकका लागि आवेदन खुलाइएको पालिकाले जनाएको छ ।
गाउँपालिकाबासी इच्छुक गाईपालक किसानले नेपाली नागरिकताको प्रतिलपि १ प्रति, लालपूर्जाको प्रतिलिपि/जग्गा भाडामा लिएको भए कम्तिमा ५ वर्षको लागि सम्झौतापत्रको प्रतिलिपि १ प्रति, गोठसहित गाई धनी देखिने गरी गाईको फोटो २ प्रति, २ जना छिमेकीको सिफारिस, वडा कार्यालयको सिफारिससहित मंसिर १ गतेभित्र आवेदन पेश गर्न पालिकाले सूचना प्रकाशित गरेको छ ।
पालिकाले छनौट भएका आवेदकलाई गाईपालन गर्ने समयसम्म मासिक रु १ एक हजार प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो । किसानलाई प्रती गाई मासिक १ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिइने गाउँपालिकाका सूचना अधिकारी दिपक थापा क्षेत्रीले जानकारी दिनुभयो। उहाँका व्यवसायिक रूपमा गाइपाल्नेले भने प्रती १० वटा गाई बराबर १ हजार प्रोत्साहन भत्ता पाउनेछन्।
रैथाने जातको संरक्षण गर्न र पशुपालनको माध्यमबाट पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यका साथ यो अभियान थालेको गाउँपालिका प्रमुख प्रकाश तिवारीले बताउनुभयो। उहाँले गहुँत, गोबरको महत्त्व रहेको पहाडे गाईको दुध पौष्टिक हुने भएकाले गाईको संरक्षणमा पालिका जुटेको बताउनुभयो ।