गाउँपालिकाको अनौठो साथ : सच्चिए नागरिकको कागजात

माघ १६, २०८१     नारायणप्रसाद कोइराला


नागरिकताको प्रतिलिपी लिएपछि सामुहिक तस्बिर खिचाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका कर्मचारी र अर्जुनचौपारीका सेवाग्राही 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नागरिकको कागजात सच्याउन सहयोग गरेको छ। सरकारी कागजातमा भएका गल्ती ,कमी कमजोरी कारण  नागरिकले झेल्नुपरेको समस्या समाधानका लागि गाउँपालिकाले हरेक वडाका गाउँटोलमा पुगी एकीकृत शिविर संचालन गरेको थियो।माघ २ गतेदेखि १४ गतेसम्म संचालन भएको शिविरमा कागजातको समस्या भएका ३८ जना नागरिकको समस्या समाधान गर्न पालिकाले सहयोग गरेको हो।

विशेषगरी नागरिकता सच्याउनुपर्ने समस्या भएका विभिन्न वडाका ३८ जना सेवाग्राहीलाई अर्जुनचौपारी गाउँपालिकाले  नि:शुल्क सवारीसाधन, खाजा र खानाको समेत व्यवस्था गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जा पुर्‍याएको थियो। जसमध्ये ३४ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले माघ १६ गते  सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरी समस्या समाधान गरेको छ। बाँकी ४ जनाका कागजातहरु  सच्याउन आइतबार गाउँपालिकाको सवारी साधनमा जिल्ला प्रशासन कार्यालय लगिने गाउँपालिकाले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अर्जुनचौपारी गाउँपालिकाले नागरिकका कागजात सम्बन्धि समस्या समाधान गर्न देखाएको अग्रसरताको प्रशंसा गर्नुभएको छ।उहाँले भन्नुभयो, “व्यवस्थित र फरक ढंगले काम गरी  गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई सरल र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। नागरिकका घर घरमै पुगेर समस्या पहिचान गरी जिल्ला प्रशासनसँग सहकार्य गरेर नागरिकलाई नागरिकता सच्याउन सहयोग गरेको अर्जुनचौपारीको असल  अभ्यास अरूको लागि समेत अनुकरणीय छ।”

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले स्थानीय सरकार नागरिकको सरकार भएकाले कागजातको समस्यालाई गम्भीर रूपमा लिएर सहयोग गरेको बताउनुभयो। नागरिकको वा सेवा प्रदायक जसको कमजोरी भएपनि सरकारी कागजातमा भएका गल्ती कमीकमजोरीका कारण नागरिकले नै जिन्दगीभर  सास्ती पाउने भएकाले गाउँपालिकाले एकीकृत तरिकाले समाधान खोजेको अध्यक्ष तिवारीको भनाई छ।