गाउँ टोलमै सरकारी सेवा प्रदान गर्दै अर्जुनचौपारी


स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या समाधान कार्यक्रम एवम् एकीकृत शिविर सञ्चालन गरेको छ।
राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्ता लगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदाय स्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर नै सञ्चालन हुने गरी बुधबारबाट गाउँ टोलमा सेवा प्रवाह गर्न सुरु गरेको हो।सरकारी कागजातको समस्या पहिचान सहजीकरण तथा समाधानका लागि १४ दिने एकीकृत शिविर एक कार्यक्रमका बीच वडा नम्बर ३ को वडा कार्यलयबाट सुचारु भएको छ।

यो कार्यक्रम मार्फत प्रत्येक वडाका विभिन्न स्थानबाट सेवाप्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार यो शिविरबाट प्रवाह हुने सेवाहरुमा पञ्जीकरणसम्बन्धी सहजीकरण, आँखा परीक्षण तथा उपचार, माटो, गोबर परीक्षण तथा उपचार, कृषि रोगसम्बन्धी प्रशिक्षण तथा औषधि वितरण, पानी परीक्षण, स्वास्थ्य परीक्षण तथा उपचार,उद्यम विकास सहजीकरण तथा बालश्रम सर्वेक्षण एवम् रोजगारी स्थिति सर्वेक्षण, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित कार्ड नवीकरण तथा नयाँ कार्ड वितरण लगायतका अन्य समेत सेवा रहनेछन्।
अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार विभिन्न कारणले सरकारी कागजातहरु प्राप्त गर्न नसकेका सर्वसाधारणको पहिचान गर्ने, पालिकाको तर्फबाट हुन सक्ने सहजीकरण गरी कागजात उपलब्ध गराउने र उपलब्ध हुन नसक्ने कागजातहरुको स्पष्ट कारण खोजी माथिल्लो तहमा पेश गर्ने तथा कानूनी र नीतिगत समस्या देखिएमा कानून समेत संशोधनको लागि प्रस्ताव गर्ने गरी यो सेवाप्रवाह शिविर सुरु गरिएको हो।यस कार्यका लागि अर्जुनचौपारी गाउँपालिकाले जिल्लामा समेत कर्मचारी खटाई जिल्लास्थित कार्यालयहरुसँग समन्वय गर्ने, सरकारी कागजातहरु प्राप्त गर्नका लागि पालिकाले सदरमुकामसम्म सेवाग्राहीलाई लैजान र ल्याउन निशुल्क यातायात सेवा उपलव्ध गराउने समेत तयारी गरेको अध्यक्ष तिवारीले बताए।
यस्तो खालको कार्यक्रम जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरिएको हो।