जिल्ला प्रशासनद्वारा अवैध क्रसर शिलबन्दि
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भीरकोट नगरपालिकामा रहेको अवैध क्रसरमा शिलबन्दी गरेको छ। प्रशासनले भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेजको नाममा रहेको क्रसरमा शिलबन्दी गरेको हो।
भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र के.सी. ले जिल्ला भरीका क्रसर अनुगमन गर्ने क्रममा भीरकोटमा संचालनमा रहेको क्रसर पनि अनुगमन गरिएको र दर्ता नगरी संचालन गरेको पाइएकाले प्रशासनले शिलबन्दी गरेको बताए।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेको थियो। अनुगमन टोलीमा उपभोक्ता मञ्चका राजेन्द्र मरासिनी, दहथुम प्रहरी चौकीका प्रमुख प्रमोद कडेल, पूर्वाधार विकास कार्यालयका शिव ढुंगाना , करदाता सेवा कार्यालय पुतलीबजारका सुवास मरासिनी, जिल्ला स्वास्थ्य कार्यालयका खडानन्द मरासिनीको सहभागिता रहेको थियो। अनुगमनका क्रममा दर्ता नगरी संचालन गरेको पाइएकाले शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए।
जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटल र किराना पसल समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरिएको छ। बिल बिजक जारी नगरी कारोबार गरेको पाइएकाले जरीवाना गरिएको जिल्ला प्रशासनले जनाएको छ। गल्याङमा २ वटा फार्मेसी , १ होटल र १ किराना पसलको अनुगमन गरिएको थियो।