च्याउ खेतीबाट आत्मनिर्भर बन्दै जि.सी.

माघ ३०, २०८१     एनपी कोइराला


अर्जुनचौपारी गाउँपालिका वडा नं १ माझपाटाका अर्जुन जि.सी.ले विगत ४ वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनुभएको  छ। वि.सं. २०७६ सालमा पहिलो पटक ५० मुढामा परीक्षण गरी सफल भएपछि उहाँले व्यवसायिक रूपमा च्याउ खेती थाल्नुभएको हो।

अहिले उहाँले  १ हजार ८ सय मुढामा च्याउ उत्पादन गर्दै आउनुभएको छ। जि.सी. ले  च्याउ खेतीबाट सबै खर्च कटाएर  वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरेको  बताउनुहुन्छ।

२६ वर्षीय जि.सी. बिहान र बेलुका मात्रै च्याउ खेतीमा समय दिनुहुन्छ भने अन्य समयमा काठ काट्ने काम गरेर थप आम्दानी गरिरहनुभएको  छ। उहाँको अनुसार च्याउ प्रति केजी च्याउ ५०० देखि ५५० रुपैयाँसम्म बिक्री हुने गर्छ।

च्याउ उत्पादन बढाउन स्थानीय सरकारले टनेल निर्माणमा सहयोग गरे, आफ्नो गाउँपालिका च्याउमा आत्मनिर्भर बन्न सक्ने जिसीको विश्वास छ। “काम ठूलो सानो हुँदैन, स्वदेशमै मिहिनेत गरे मासिक ४०-५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ, विदेश जानैपर्ने बाध्यता हुँदैन,” उहाँले भन्नुभयो।

च्याउ खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै अगाडि बढ्ने योजना बनाएका जि.सी.ले गाउँका अन्य युवालाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिरहनुभएको छ।