फर्सीले बजार पाउँदा किसान हर्षित


पहाडी भेगको पाखाबारीमा खेती गर्न निकै सजिलो एवम् प्रशस्त फल्ने बालीको रुपमा फर्सी खेतीलाई लिईन्छ । राम्रोसँग बजारीकरण हुन नसक्दा त्यति महत्व नपाएको फर्सी अहिले स्याङ्जामा नगदेबाली बनेको छ। पछिल्लो समय कृषि सहकारीहरुले गाउँमा फलेका फर्सीलाई खरिद गर्न थालेपछि किसानहरु खुशी भएका छन् । जसले गर्दा उत्पादन भएर पनि बजार नपाएको फर्सीले राम्रो बजार समेत पाउन थालेको हो ।
फर्सीलाई ठाउँ अनुसार कभेली पनि भनिन्छ । पहाडी भेगको पाखाबारीमा खेती गर्न निकै सजिलो एवम् प्रशस्त फल्ने अर्गानिक खेती हो फर्सी। बहुउपयोगी फर्सी खेती ग्रामीण समुदायको परम्परागत खेती हो । ग्रामीण समाजको परम्परागत तरकारी बालीको रुपमा रहेको फर्सीलाई बजारीकरणको समस्या नहुँदा आम्दानीको राम्रो श्रोत पनि बनिरहेको छ । केहि बर्ष पहिले स्याङजाका पाखोबारीमा प्रशस्त फल्ने फर्सी बिक्रि नहुँदा घरमै उपयोग गर्दै आएका किसानहरुलाई कृषि सहकारीले ग्रामीण क्षेत्रमा फलेका फर्सी घरैमा पुुगेर खरीद गर्न थालेपछि कृषकलाई आम्दानी भएको छ भने उपभोक्ता अर्गानीक किन्न पाउदा खुुसी भएका छन् । गल्याङ नगरपालिका खोलाखर्कका ७३ वर्षीय कृषक लाल बहादुर सिञ्जालीले ३ हजार ५ सय किलो फर्सी घरबाटै बेच्न पाउँदा हर्षित हुनुहुन्छ।

पाखोबारी कान्लामा फर्सीको बिउ रोपेर परम्परागत खेती प्रणालीवाट मनग्य उत्पादित फर्सी अहिले गल्याङ नगरपालिका ३ मा रहेको तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारीले यो बर्ष १० टन फर्सी संकलन गरेर प्रति केजि १८ रुपैयामा बुटवल तथा पोखरासम्म बिक्री गरेको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको तथ्याङ्क अनुसार गत बर्ष जिल्लावाट १५ लाख बरारको फर्सी निर्यात भएको थियो । उक्त सहकारीमा ४ हजार भन्दा बढी सेयर सदस्य किसान रहेको र तिनै किसानलाई समृद्धि बनाउन सहकारीले उत्पादन भएको फर्सीलाई बजारीकरणको जिम्मा लिनेगरी काम गरेको संस्थाका अध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।
स्वास्थ्यका लागि निकै लाभदायी हुने जस्तै मुटुरोगी, कोलेस्टोर, पेटको समस्या तथा मधुमेह रोगलाई समेत फाइदा गर्ने फर्सीले घरायसी प्रयोजनको लागि मात्र नभई यसको माग बिस्तारै बजार सम्म बढ्दै गएपछि यसको क्षेत्रफल बिस्तार हुदै गएको छ । आधुनिक तौर तरिकाबाट फर्सी खेती गर्ने , कृषि सहकारीले बजारीकरण गरिदिने र सबै स्थानीय तहले चासो दिन सक्ने हो भने जिल्लामा फर्सीलाई नगदेबालीको रूपमा खेती गर्न सकिन्छ ।