भीरकोट नगरपालिका वडा नं ७ स्थित बलमाटा, मजुवा र झापाकोटको फाँटमा लगाइएको धानमा फल नलागेपछि किसानहरु निकै चिन्तित बनेका छन्। पूरानो र परम्परागत धानको बीउ लगाइरहेका किसानले नगरपालिकाले पचास प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ दिने भएपछि किसानहरु हौसिएर उक्त “सावा सव १” जातको धान रोपेका थिए।
दशौं रोपनी खेतमा लगाएको धानमा फल नलागेको, धान फुलेर बाला हाल्दै गर्दा धान डढेर बोट समेत मर्दै गएको र यो रोग सिंगै फाँटमा फैलिँदै गएपछि अन्य किसानहरु समेत मारमा परेको कृषक श्यामप्रसाद अर्यालले बताउनुभयो। उहाँका अनुसार रु ३२ रुपैयाँ ५० पैसामा प्रतिकिलो धानको बीउ अनुदानमा खरिद गरी लगाइएको हो।
कृषक चुडामणि अर्यालका अनुसार आफूहरुले यसअघि हाइब्रिड जातको धान समेत प्रयोग गर्ने गरेको तर नगरपालिकाले स्थानीय स्तरमै उत्पादन गरिएको उन्नत जातको धान लगाउन सुझाएपछि यो धान लगाउँदा फसलको बेला रित्तो हात हुनुपरेकोमा दु:ख व्यक्त गर्नुभयो। नगरपालिकाले उचित क्षतिपूर्ति नदिए आफूहरु आन्दोलनमा जाने उहाँको भनाइ छ।
कृषकहरु शालिकराम अर्याल, खडानन्द अर्याल, शिवप्रसाद रेग्मी, नारायण अर्याल, मुक्ति अर्याल लगायतले बलमाटा, मजुवा र गैरीखेतको फाँटमा गरी ४०० किलोभन्दा बढी नगरपालिकाले अनुदानमा दिएको उन्नत जातको धानको बीउ लगाउनुभएको थियो।
धानमा फल नलाग्ने, गवारो किरा लागेर फुलेको फूल समेत नष्ट हुने, धानको बोट समेत डढेर मर्दै जाने जस्ता समस्या देखिएपछि किसानहरुले कृषि प्राविधिकहरुलाई धानबाली भएकै खेतमा बोलाएका थिए।
भीरकोट नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राविधिक मदन केसीले खेतमा लगाइएको धानबालीमा रोग देखिएको र सोको परीक्षण तथा उपचारका लागि आफूले धानको बाला र बोटसहित माटो समेत कृषि प्रयोगशाला पोखरामा पठाएको जानकारी दिनुभयो। परीक्षण पश्चात थप कुरा आउने र सोही अनुसारको तयारी थाल्ने उहाँको भनाइ छ।
किसानहरुले भने भीरकोट नगरपालिका, कृषि ज्ञान केन्द्र स्याङ्जा र प्रदेशमा समेत आफूहरुले आफ्नो समस्याको ध्यानाकर्षण गराउँदै उचित राहतको व्यवस्था गर्न अनुरोध गरेका छन्।