सिद्धार्थ राजमार्गमा दुर्घटना : १ जनाको मृत्यु, १ घाइते
फागुन १४, २०८१
स्मार्ट संवाददाता


स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. ३ च. ३३२४ नम्बरको पिक अप भ्यान गल्याङ नगरपालिका वडा नं ११, खरिपानीस्थित सिद्धार्थ राजमार्गमा परेको थियो।
करिब १ बजेतिर भएको दुर्घटनामा उक्त भ्यान सडकबाट करिब १०० मिटर तल खस्दा चार जना सवारमध्ये दुई जना घाइते भएका थिए। घाइतेमध्ये पाल्पा रम्भा गाउँपालिका–३ निवासी २६ वर्षीय चालक मित्रलाल अर्यालको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक २३ वर्षीय राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।