भीरकोटको बेथिती: मापसे गरेर सरकारी स्कुटर चलाउँदा दुर्घटना
स्याङ्जाको भीरकोट नगरपालिकाका कर्मचारीले मादक पदार्थको सेवन गरेर स्कुटर चलाउँदा दुर्घटना भएको छ। शनिबार दहथुम प्रहरी चौकी नजिकै भएको दुर्घटनामा भीरकोट नगरपालिकाको स्कुटर ग १ब ११८६ र निजी सवारी लु ६४ प ७४५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। शनिबार राती ८.३० बजे भएको दुर्घटनामा सरकारी स्कुटर चालक कृष्ण अर्याल घाइते भएका छन्। उनी भीरकोट नगरपालिकाको फोहरमैला व्यवस्थापन एवं सरसफाइ केन्द्रमा कार्यरत छन्। भीरकोट पार्कको व्यवस्थापनको जिम्मा समेत पाएका उनले भीरकोट नगरपालिकाका भी.आइ.पी. हरूसँग भीरकोट पार्कमा बसेर मादक पदार्थ सेवन गरेर फर्कने क्रममा दुर्घटना भएको स्रोतले बतायो।दुर्घटनामा परेका दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्।
सरकारी स्कुटर चालक अर्यालको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरी स्रोतले बतायो।घटनामा घाइते भएका अर्याल भीरकोट नगर अस्पतालमा उपचार गरेपछि घर फर्किएका छन्। सरकारी सवारी साधन दुर्घटना भएपछि स्थानीय सरकारले सवारी चालक अनुमतिपत्र नै नभएका कर्मचारीलाई सवारी साधन उपलब्ध गराएको खुलेको हो। दुर्घटनाका विषयमा स्मार्ट अखबारसँग कुरा गर्दै नगर प्रवक्ता दिपेन्द्र के.सी. ले कर्मचारीले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हुनाले कानुन बमोजिम कारबाही हुने बताए।
मनोरञ्जन, बनभोज र आराम केन्द्रको रूपमा जिल्लामा परिचित भीरकोट पार्क पछिल्लो समय मादक पदार्थ सेवनको अखडा बन्दै गएको सर्वसाधारणले गुनासो समेत गरेका छन्।