वालिङ महोत्सवको आय व्यय सार्वजनिक
जेठ ३०, २०८१ स्मार्ट संवाददाता
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । गत माघ १८ गतेदेखि २८ सम्म वालिङ खेलमैदानमा संचालन भएको महोत्सवको बुधबार पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरिएको हो । महोत्सव सकिएको ४ महिनापछि सार्वजनिक गरिएको आय व्यय विवरण अनुसार महोत्सवबाट वालिङ उद्योग वाणिज्य संघले करिब २१ लाख रूपैयाँ बचत गरेको छ।
आठौं वालिङ महोत्सवमा कूल ८५ लाख ५४ हजार ४ सय ४१ रुपैयाँ ६० पैसा आम्दानी भएको आयोजक वालिङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ। संघका कोषाध्यक्ष खगुपति न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार ६४ लाख ४४ हजार ४ सय २१ रुपैयाँ ३४ पैसा महोत्सव संचालन एवं व्यवस्थापनमा खर्च भएको छ र २१ लाख १० हजार २० रुपैयाँ २६ पैसा बचत भएको छ।