गल्याङमा आलु महोत्सव

फागुन २७, २०८०


२७ फागुन २०८०, आइतबार

गल्याङ चेम्बर अफ कमर्शले दोस्रो आलु महोत्सव तथा कृषि प्रदर्शनी सुरू गरेको छ। “दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य विउमा आत्मनिर्भर” भन्ने मुल नाराका साथ फागुन २६ गतेबाट सुरू भएको महोत्सव २८ गतेसम्म सञ्चालन हुने दोस्रो आलु तथा कृषि प्रदर्शनी २०८० मूल समारोह समिति संयोजक तथा गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष पूर्ण बहादुर रानाभाट (अर्जुन)ले जानकारी दिए।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद महेश भट्टराईले गल्याङ चेम्बरले कृषि कार्यक्रमलाई महत्व दिएर कृषि प्रदर्शनी कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गरे। कृषिको विकासमा प्रदेश सरकारले धेरै कार्यक्रम संचालन गरेको बताउँदै उनले बीउ खरिदमा ७५ प्रतिशत, उपकरण खरिदमा ५० प्रतिशत , विषादी खरिदमा शत प्रतिशत र सिंचाइका लागि ८५ प्रतिशत भन्दा बढी दिएको जानकारी दिए।

कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, गल्याङ नगरपालिकाका संस्थापक मेयर भुपराज अधिकारी ,कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, गरिमा विकास बैंकका केन्द्रीय अध्यक्ष श्याम प्रसाद बस्याल,गल्याङ नगरपालिका वडा नं.३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई , गल्याङ चेम्बर अफ कमर्सका सल्लाहकार महेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गल्याङ नगरपालिका– ११ जिमुहाँस्थित खेलमैदानमा आयोजना गरिएको कृषि महोत्सवमा आलुका विभिन्न परिकार प्रदर्शनी गर्ने तथा स्थानीय स्तरमा उत्पादित कृषि उपजको बिक्री वितरण गर्ने, आन्तरिक तथा बाह्य दर्शक एवम् पर्यटक भित्र्याउने तथा दर्शकहरुलाई आकर्षित गर्न आलु प्रदर्शनी तथा बिक्री, ताजा तरकारी प्रदर्शनी, कृषि प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक दल बहादुर सिंजालीले बताए।

आलु तथा कृषि प्रदर्शनीमा पूर्ण निःशुल्क रुपमा २० वटा स्टल रहेका छन् भने २० लाख रुपैयाँसम्मको व्यापारीक कारोबार गर्ने र १४ हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य अध्यक्ष रानाभाटले जानकारी दिए ।