जनप्रतिनिधिका ४ वर्ष : भीरकोटको प्रगति विवरण
आश्विन ०९, भीरकोट खबर डेस्क,
जिल्लाकै पहिलो बालमैत्री नगरपालिका भीरकोट नगरपालिका स्थापना भएको ६ वर्ष पूरा भएको छ।यहि असोज २ गते एक समारोह आयोजना गरि सातौँ स्थापना दिवस मनाएको नगरपालिकाले जनप्रतिनिधि पाएको ४ वर्ष पुगीसकेको छ।नेपाली काङ्ग्रेसको वर्चस्व रहेको भीरकोटमा सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अत्याधिक बहुमत छ।
चार वर्षको अवधिमा नगरपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ।स्थापना कालमा साँगुरो ठाउँमा भाडामा बसेको नगरपालिकाले वडा नं १ दार्सिङ भर्लाकुनामा १० करोड लगानीमा अत्याधुनिक अपांगमैत्री भवन निर्माण गरि प्रशासननिक सेवा प्रदान गरिसकेको छ।हरेक आर्थिक वर्षमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम योजना तर्जुमाका ६ चरणहरू अवलम्बन गर्दै समयमै बजेट स्वीकृत गरि कार्यान्वयन गर्न सफल नगरपालिकाको हरेक वर्षको पूँजीगत प्रगति ९० प्रतिशत भन्दा बढी छ। नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउनको लागि अति विपन्न गरिब ४०० घरपरिवारलाई पक्की शौचालय निर्माण गरिएको छ।यसैगरी नगरको फोहोरमैला व्यवस्थापन गर्न वडा नं ४ मा व्यवस्थित सरसफाइ केन्द्र र पार्क निर्माण अन्तिम चरणमा पुगेको छ।नगरकै सवारी साधनले नियमित रूपमा फोहर संकलन गरी व्यवस्थापन केन्द्रमा लैजाने गर्दछ।
२०७७ साल फागुन २२ गते गण्डकी प्रदेशको दोस्रो र जिल्लाको पहिलो बालमैत्री स्थानीय तह घोषणा गरिएको भीरकोट नगरपालिकाले सबै टुहुरा अनाथ बालबालिकाहरूलाई मासिक रू१००० दिन सुरू गरेको छ।पूर्ण खोपयुक्त स्थानीय तह घोषणा हुन सफल भीरकोट नगरपालिकामा गर्भवती महिलाहरूलाई पहिलो गर्भ जाँच भए देखि प्रतिदिन १ वटाका दरले अण्डा दिने व्यवस्था गरिएको छ।जसका कारण आमा र शिशु दुबैको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको छ। “हाम्रो भीरकोट” नामक स्थानीय पाठ्यक्रम निर्माण भैसकेको छ र पाठ्पुस्तक छपाईको काम भैरहेको छ।भीरकोट आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने नेपालकै पहिलो नगरपालिका बनेको छ।शिक्षा शाखाकै सहजीकरण र समन्वयमा नगरपालिका स्तरीय अतिरिक्त क्रियाकलाप पनि संचालन गरिदै आएको छ।
महामारीको समयमा निशुल्क क्वारेन्टाइन सुविधा प्रदान गरेको नगरपालिकाले कालिका सामुदायिक अस्पताललाई विधिवत रूपमा नगर अस्पताल बनाउन लागिपरिरहेको छ।स्वास्थ्य चौकीहरूको व्यवस्थापन र स्तरोन्नतिमा पनि जोड दिइएको छ।बन्द अवस्थामा रहेको कालिका अस्पताल नगरपालिकाको सहजीकरणमा पुन: संचालनमा आएको छ। कोभिड १९ विरुद्धको खोप कार्यक्रम नियमित रूपमा संचालन भैरहेको छ।
२० वर्षे दीर्घकालीन रणनीतिक योजनाका आधारमा विकास निर्माणका गतिविधिहरू संचालन गरिरहेको नगरपालिकामा पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको छ।नगरपालिकाको सहजीकरणमा वडा नं २ को केघा ,वडा नं ८ को ओखतीपानी तमुनासा र वडा नं ८ को खिलुङमा घरबास पर्यटन (होमस्टे) संचालन गरिएको छ।वडा नं ८ को गडहरे गुफाको भौगर्भिक अध्ययन सम्पन्न भएको छ।गुफालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ४ करोड ७२ लाखको लगानीमा पूर्वाधार निर्माणको काम भैरहेको छ। छायाक्षेत्रमा पनि पूर्वाधार निर्माणको कार्य जारी छ।नगरभित्रका ग्रामीण सडकहरूलाई सकेसम्म बाह्रै महिना सवारी चल्ने बनाउनको लागि स्तरोन्नति तथा विस्तारको काम नगरपालिकाकै डोजर प्रयोग गरि नियमित रूपमा भैरहेको छ। वडा नं १,५,७ र ८ मा वडा कार्यालयहरू निर्माण भै संचालनमा आइसकेका छ्न्। वडा नं ७ र ५ मा वडा कार्यालय पहुँच मार्ग निर्माण भएका छ्न्।वडा नं ५ र ६ गरि करिब २.५ किलोमिटर पक्की सडक पनि निर्माण भएको छ । गोदिखोला र भण्डारखोलामा कल्भर्ट निर्माण भएको छ।यहि वर्ष बाढी नियन्त्रण गर्न वडा नं ६ को एकुवारमा तत्काल ९६ थान जाली लगाउन सफल नगरपालिकाले आँधीखोलाका विभिन्न स्थानमा नियमित तटबन्धनको कार्य गरिरहेको छ।पूर्वाधार विकासलाई दीगो र गुणस्तरीय बनाउन र आन्तरिक आम्दानी वृद्धि गर्न नगरपालिकाले नदिजन्य निर्माण सामाग्री प्रशोधन केन्द्र स्थापना गरेर नियमित संचालनमा ल्याएको छ। समुदायको माग र आवश्यकता अनुसार सिंचाई, खानेपानी र गोरेटो बाटो निर्माणका कामहरू नियमित रूपमा भैरहेका छ्न्।कृषिको विकासका लागि पकेट क्षेत्र घोषणा गरि कृषकहरूलाई आर्थिक ,प्राविधिक तथा वस्तुगत सहायता/अनुदान प्रदान गरिएको छ।वडा नं ६ मा गुणस्तरीय बीउ, बिजन, तरकारी तथा फलफूल उत्पादन गर्ने उद्देश्यले नमुना कृषि फर्म संचालनमा ल्याइएको छ।
विधिको शासन र सुशासनलाई प्राथमिकतामा राखेको नगरपालिकामा ऐन र कार्यविधी गरि जम्मा २० वटा कानुनहरू निर्माण गरि कार्यान्वयनमा ल्याइसकिएको छ।नियमित रूपमा हरेक वर्ष नगरपालिकाका गतिविधिहरूको विषयमा सार्वजनिक सुनुवाइ पनि गरिएको छ। सिमित स्रोत र साधनका बाबजुद जनताका असीमित आवश्यकताहरू पूरा गर्नुपर्ने अवस्थाका कारण नगरपालिका आलोचनामुक्त भने हुन सकेको छैन्।सडक पूर्वाधारको दीगो विकासमा लागिपर्नु पर्ने देखिएको छ।नातावाद र कृपावादका कारणले गर्दा सुशासनको अवस्था केही कमजोर बनेको जनताहरूको गुनासो छ।सरकारी सवारी साधन व्यक्तिगत र पार्टीको काममा प्रयोग गरिएको गुनासो पनि छ।पारदर्शीता कायम गरेको दाबी गरिए पनि महालेखाको प्रतिवेदन अनुसार बेरूजु बढेको देखिएको छ। जनप्रतिनिधिहरूले सामाजिक सुरक्षा भन्दा पनि पारिवारिक र राजनीतिक सुरक्षा खोजेको भनी आलोचना पनि हुने गरेको छ।यसै नगरी नगरपालिकामा तथ्यांक शाखाको आवश्यकता टड्कारो देखिएको छ।समग्र विकास प्रगति र सामाजिक, आर्थिक वस्तुस्थितिको तुलनात्मक अध्ययन गर्न पाएको खण्डमा मात्रै विकासको तस्बिर छर्लङ्ग हुनेछ।्